जुम्ला । जुम्लामा स्नातक तहको एलएलबी (कानुन) कार्यक्रम सञ्चालन गर्ने पहलले तीव्रता पाएको छ । पूर्व डिन प्राध्यापक डा. लक्ष्मणकुमार उपाध्याय र प्राध्यापक डा. विजयसिंह सिँजापतिको टोलीले जिल्लामा स्थलगत भ्रमण गर्दै स्थानीय सरोकारवालासँग विस्तृत छलफल गरी कार्यक्रम सञ्चालनको सम्भाव्यता अध्ययन गरेको छ । हाल जुम्ला बहुमुखी क्याम्पसमा व्यवस्थापन र शिक्षा संकाय मात्र सञ्चालनमा रहेका छन् । कानुन विषयको अध्ययनका लागि विद्यार्थीहरूलाई जिल्ला बाहिर जानुपर्ने बाध्यता रहेको छ, जसका कारण अभिभावक र विद्यार्थी दुवैलाई आर्थिक तथा सामाजिक रूपमा थप भार पर्ने गरेको क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले जानकारी दिनुभयो । उनका अनुसार जुम्लामै एलएलबी कार्यक्रम सञ्चालन गर्न सके स्थानीय विद्यार्थीलाई ठूलो राहत पुग्नेछ ।
एलएलबी कार्यक्रम सञ्चालनका लागि आवश्यक पूर्वाधार र स्रोत जुटाउने कार्य पनि सँगसँगै अगाडि बढाइएको छ । हालसम्म करिब ९५ लाख रुपैयाँ बराबरको स्रोत सुनिश्चित भइसकेको छ भने आवश्यक जनशक्ति व्यवस्थापनको तयारी पनि पूरा भइसकेको क्याम्पस प्रशासनले जनाएको छ । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भएलगत्तै जुम्लामै कानुन शिक्षा सुरु गर्ने लक्ष्य राखिएको छ । सत्य निरूपण तथा मेलमिलाप आयोगका सदस्य तथा वरिष्ठ अधिवक्ता पदमबहादुर शाहीले जुम्लामा कानुन शिक्षा सुरु हुने सम्भावनालाई सकारात्मक रूपमा लिँदै यसले स्थानीयस्तरमा न्यायिक चेतना अभिवृद्धि गर्न सहयोग पुग्ने बताए उनले कानुन शिक्षा केवल पेशागत अध्ययन मात्र नभई समाजमा न्याय, अधिकार र उत्तरदायित्वबारे सचेतना फैलाउने महत्वपूर्ण माध्यम भएको धारणा व्यक्त गरे ।
कानुन संकाय सञ्चालनका लागि स्थानीय तह, शैक्षिक संस्था र अन्य सरोकारवालाहरूले समेत सक्रिय सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । पूर्व डिन प्राध्यापक डा. विजयसिंह सिँजापतिले त्रिभुवन विश्वविद्यालय कानुन संकाय विस्तारप्रति सकारात्मक रहेको उल्लेख गर्दै सम्भाव्यता अध्ययन टोलीले अनुकूल प्रतिवेदन पेश गर्ने तयारी गरिरहेको जानकारी दिए। जिल्ला समन्वय समिति प्रमुख गौरीनन्द आचार्यले स्थानीय तहहरूको स्पष्ट प्रतिबद्धताले कार्यक्रम सञ्चालनमा कुनै अवरोध नरहेको बताउँदै अनुगमन टोलीलाई छिटो यथार्थपरक प्रतिवेदन पेश गर्न आग्रह गरे । उनले जुम्लाजस्तो दुर्गम क्षेत्रमा उच्च शिक्षा विस्तार हुनु विकासका दृष्टिले महत्वपूर्ण उपलब्धि हुने उल्लेख गरे
हालै आयोजित एलएलबी कार्यक्रम विस्तारसम्बन्धी अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिनिधिहरूले कानुन शिक्षा अभावमा समाज पूर्ण रूपमा न्यायमुखी हुन नसक्ने धारणा राखेका छन् । उनीहरूले जुम्लामा कानुन संकाय सञ्चालन हुनु केवल शैक्षिक अवसर विस्तार मात्र नभई न्यायमा पहुँच वृद्धि गर्ने ऐतिहासिक कदम हुने बताएका छन् । राजनीतिक दलहरूले पनि यस पहलमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसका उपसभापति कर्मा बुढा र एमाले नेता आदि प्रसाद न्यौपानेले दलगत रूपमा आवश्यक सहयोग गर्ने बताएका छन् । समग्रमा, जुम्लामा एलएलबी कार्यक्रम सञ्चालनको पहलले गति लिएको छ र सम्बन्धन प्राप्त भएलगत्तै कार्यान्वयनमा जाने अपेक्षा गरिएको छ ।








