२०८३ वैशाख १७ , बिहीबार

विद्यालय समायोजन र दरबन्दी मिलान



सल्यान । कुमाख गाउँपालिकाले सामुदायिक विद्यालयहरूको संरचना पुनः व्यवस्थित गर्दै समायोजन, तह घटुवा तथा शिक्षक दरबन्दी मिलानको काम सम्पन्न गरेको छ । गाउँ शिक्षा समितिको २०८१ फागुन १५ गतेको निर्णयअनुसार उक्त प्रक्रिया कार्यान्वयनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत भूपाल खड्काले जानकारी दिए ।  पालिकाले सार्वजनिक गरेको विवरणअनुसार दुई दर्जनभन्दा बढी विद्यालयमा तह परिवर्तन गरिएको छ । केही विद्यालयलाई कक्षा एक र तिन सम्म सीमित गरिएको छ भने कतिपयलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ । साथै, केही विद्यालयलाई नजिकका विद्यालयसँग समायोजन गरिएको पनि जनाइएको छ ।

कक्षा एक र तिन सम्म सञ्चालन भएका छ  विद्यालयलाई बालविकास केन्द्रमा रूपान्तरण गरिएको छ भने एक र पाँच सम्म सञ्चालन भएका सात विद्यालयलाई एक र तिन मा झारिएको छ । त्यस्तै, कक्षा एक र आठ  सम्म सञ्चालनमा रहेका चार विद्यालयलाई एक र पाँच मा सीमित गरिएको छ भने कक्षा १० सम्म रहेको एक विद्यालयलाई कक्षा आठ सम्म झारिएको छ । साथै एक र पाँच सम्म सञ्चालन भएको एक  विद्यालय र एउटा बालविकास केन्द्रलाई नजिकका विद्यालयमा गाभिएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा विद्यालय समायोजन कार्यविधि, २०८० अनुसार यो पुनर्संरचना गरिएको गाउँपालिकाले जनाएको छ ।

सोहीअनुसार शिक्षक दरबन्दी मिलान गरी आवश्यकताअनुसार शिक्षकहरूलाई विभिन्न विद्यालयमा सरुवा गरिएको छ । दरबन्दी मिलानपछि २४ जना शिक्षक तथा कार्यालय सहयोगीको व्यवस्थापन गरिएको छ । सम्बन्धित शिक्षकहरूले पालिकाबाट पत्र बुझी तोकिएको विद्यालयमा अनिवार्य रूपमा हाजिर हुनुपर्ने व्यवस्था गरिएको छ । साथै, तह घटुवा भएका विद्यालयहरूले निर्धारण गरिएको कक्षासम्म मात्र विद्यार्थी भर्ना लिन पाउनेछन् । गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार, स्रोतको प्रभावकारी उपयोग र विद्यालय व्यवस्थापनलाई व्यवस्थित बनाउन यस्तो निर्णय गरिएको जनाएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख १७ गते बिहीबार