सल्यान । सल्यान जिल्लामा चालु आर्थिक वर्ष २०८२/०८३ को हालसम्म चार हजारभन्दा बढी घरधुरीमा राष्ट्रिय प्रसारण लाइनमार्फत विद्युत् सेवा विस्तार गरिएको छ । विद्युतीकरणको काम तीव्र गतिमा अघि बढे पनि अझै करिब २७ प्रतिशत घरधुरी विद्युत् सेवाबाट वञ्चित रहेका छन् । नेपाल विद्युत् प्राधिकरण, सल्यान वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलका अनुसार गत साउन महिनादेखि हालसम्म चार हजारभन्दा बढी घरमा विद्युत् सेवा पुर्याइएको हो। उनका अनुसार जिल्लाका कुल घरधुरीमध्ये हालसम्म ७३ प्रतिशतमा विद्युत् पहुँच पुगेको छ भने तीमध्ये ६४ प्रतिशत उपभोक्ताले मिटर जडान गरिसकेका छन् । बाँकी क्षेत्रमा विद्युतीकरण विस्तारको काम निरन्तर भइरहेको उनले बताए ।
विद्युत् विस्तारकै क्रममा दार्मा गाउँपालिकाका तीन वडामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको छ। वडा नम्बर २ लिरापाज, वडा नम्बर चार सिँगारीकोट पुखाद र वडा नम्बर छ भुर्तिवाङका करिब दुई सय घरधुरीमा बुधबारदेखि नियमित विद्युत् सेवा सञ्चालनमा आएको हो । वितरण केन्द्रका अनुसार ती क्षेत्रमा तीनवटा ट्रान्सफर्मर जडान गरी आवश्यक वितरण संरचना निर्माण गरेर सेवा विस्तार गरिएको हो । वर्षौंदेखि सौर्य बत्तीको भरमा जीवनयापन गर्दै आएका स्थानीयवासी राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा प्राप्त गरेपछि उत्साहित भएका छन् । हाल ती क्षेत्रमा मिटर जडान कार्यसमेत सुरु भइसकेको छ, जसले सेवाको नियमितता थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
जिल्लामा विद्युत् आपूर्तिका लागि तुल्सीपुरबाट आउने ३३ केभी क्षमताको राष्ट्रिय प्रसारण लाइन प्रयोग हुँदै आएको छ । यस्तै वनगाड कुपिन्डे नगरपालिकाको सल्लीबजार क्षेत्रमा भने सुर्खेत वितरण केन्द्रमार्फत विद्युत् सेवा उपलब्ध हुँदै आएको छ । हाल जिल्लामा सितलपाटी र थारमारेमा दुईवटा सबस्टेशन सञ्चालनमा छन्, जसले विद्युत् वितरणलाई सुदृढ बनाउन सहयोग पुर्याएका छन् । यसैगरी खलंगा, सितलपाटी, लुहाम, कपुरकोट र थारमारेमा रहेका फ्युज सेवा केन्द्रहरूले मर्मतसम्भार कार्यलाई सहज बनाउँदै आएका छन् । तथापि, उपभोक्ताले अझै पनि भोल्टेज कम हुनु, प्रणालीमा अवरोध आउनु तथा लाइन विस्तारमा ढिलाइ जस्ता समस्या भोग्नुपरेको गुनासो गर्दै आएका छन् ।
सल्यानमा वार्षिक रूपमा करिब पौने नौ करोड रुपैयाँ बराबरको विद्युत् खपत हुने गरेको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा एक करोड आठ लाख ४३ हजार नाै सय ६६ युनिट विद्युत् बिक्री हुँदा आठ करोड ७५ लाख ३५ हजार पाँच सय ३८ रुपैयाँ आम्दानी भएको वितरण केन्द्रले जनाएको छ । यसले जिल्लामा विद्युत् उपभोग क्रमशः बढ्दै गएको देखाउँछ । विद्युतीकरण विस्तारसँगै स्थानीय स्तरमा आर्थिक गतिविधि, साना उद्योग, शिक्षा र स्वास्थ्य सेवामा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । तर बाँकी रहेका दुर्गम बस्तीमा छिटो सेवा पुर्याउन र गुणस्तरीय आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायले थप ध्यान दिनुपर्ने देखिएको छ ।









