जाजरकोट । बहुप्राविधिक शिक्षालय, भेरी नगरपालिका पाँच काफलचौरले यस वर्ष न्यूनतम शुल्कमै गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्ने व्यवस्था गरेपछि विद्यार्थी तथा अभिभावकहरू उत्साहित भएका छन् । शिक्षालयले तीन वर्षे ‘डिप्लोमा इन फार्मेसी’ कार्यक्रम ५० हजार रुपैयाँमा सञ्चालन गर्ने जनाएको छ। यस्तै ‘डिप्लोमा इन फरेस्ट्री’ ३० हजार, ‘सिभिल इन्जिनियरिङ’ ३६ हजार र ‘एनिमल साइन्स’ ३५ हजार रुपैयाँमै अध्ययन गर्न सकिने व्यवस्था गरिएको छ । ग्रामीण क्षेत्रका विद्यार्थीका लागि यी शुल्क निकै सहुलियतपूर्ण मानिएको छ । निजी कलेजहरूले महँगो शुल्क लिने अवस्थामा जाजरकोटमै यति कम लागतमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउने अवसरले विद्यार्थी र अभिभावक दुवैमा उत्साह थपिएको छ ।

भेरी नगरपालिका एक कोल्चौरका मनोज विकले गाउँमै न्यून शुल्कमा प्राविधिक शिक्षा अध्ययन गर्न पाउनु आफ्ना छोराछोरीका लागि ठूलो अवसर भएको बताए । उनले विशेषगरी निम्न आय भएका तथा विपन्न समुदायका लागि शिक्षालयले महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे । शिक्षालयका प्रमुख इश्वरीचन्द्र देवकोटाका अनुसार संस्थालाई थप व्यवस्थित, गुणस्तरीय र विद्यार्थीमैत्री बनाउने प्रयास भइरहेको छ । उनका अनुसार यो शिक्षालय सीटीईभीटीको आंगिक तथा सरकारी संस्था हो, जसले देशमै न्यून शुल्कमा प्राविधिक शिक्षा उपलब्ध गराउने लक्ष्य लिएको छ ।








