२०८३ वैशाख २० , आइतबार

रैथाने उत्पादनलाई GI ट्यागमार्फत विश्वबजारमा पुर्‍याउने पहल



सुर्खेत  ।  कर्णाली प्रदेशका परम्परागत बाली तथा स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने लक्ष्यसहित ‘भौगोलिक सङ्केत’ (GI) प्रदान गर्ने प्रक्रिया अघि बढाइएको छ । विशेष भौगोलिक क्षेत्रसँग जोडिएका उत्पादनलाई सोही स्थानको पहिचानमार्फत कानुनी रूपमा ब्रान्डिङ गर्ने उद्देश्यले यो अभियान सुरु गरिएको हो । यस पहललाई सफल बनाउन अन्तर्राष्ट्रिय सहकार्यसमेत विस्तार गरिएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (FAO) ले सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयसँग सहकार्य गर्दै आवश्यक कानुनी संरचना निर्माण र जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको छ । सुर्खेतमा आयोजित प्रादेशिक सचेतना कार्यक्रममा विज्ञहरूले जुम्ली मार्सी धान, स्याउ, टिमुर तथा विभिन्न जडीबुटीलाई GI ट्याग प्रदान गरी विश्वबजारमा प्रवर्द्धन गर्न सकिने बताएका छन् ।

भौगोलिक सङ्केतको कार्यान्वयनले कर्णालीका उत्पादनलाई विशिष्ट पहिचान दिलाउनुका साथै तिनको मूल्य अभिवृद्धि र उपभोक्ता विश्वास बढाउने अपेक्षा गरिएको छ । यसले कृषकका उत्पादनलाई बौद्धिक सम्पत्तिको रूपमा कानुनी संरक्षण प्रदान गर्नेछ । साथै, बिचौलियाको प्रभाव घट्दै प्रत्यक्ष निर्यातको सम्भावना बढ्ने र कृषकको आम्दानीमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।  GI मान्यता प्राप्त भएपछि निर्यात प्रक्रिया पनि सहज हुने बताइएको छ । प्रारम्भिक चरणमा कर्णालीका तीनदेखि चार प्रमुख उत्पादनलाई नमुना परियोजनाका रूपमा छनोट गरिने योजना छ ।

टिमुर, ओखर, स्याउ, अदुवा, बेसार, आलु, जडीबुटी तथा मार्सी धानजस्ता बालीहरू GI ट्यागका सम्भावित दाबेदारका रूपमा पहिचान गरिएका छन्  ।  कार्यक्रममा सहभागी कृषक र व्यवसायीहरूले रैथाने बालीहरू लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षणसँगै प्रशोधन केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उत्पादन भए पनि उचित बजारीकरण र प्रशोधनको अभावले अपेक्षित लाभ लिन नसकिएको उनीहरूको गुनासो छ । सरकारले यो नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न सकेमा कर्णालीका अर्गानिक उत्पादनले अन्तर्राष्ट्रिय बजारमा बलियो उपस्थिति बनाउने र स्थानीय अर्थतन्त्रमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार