२०८३ वैशाख २० , आइतबार

बाढीले बस्ती र पूर्वाधारमा व्यापक क्षति



जाजरकोट ।  गत वैशाख १३ गते परेको भीषण असिनापानी र त्यससँगै आएको बाढीले जाजरकोटको जुनीचाँदे गाउँपालिकामा ठूलो जनधनको क्षति पु¥याएको छ । निरन्तर परेको असिना र अविरल वर्षापछि आएको बाढीले विशेषगरी किसानहरूले लगाएको गहुँबाली भित्र्याउने तयारी भइरहेका बेला पूर्ण रूपमा नष्ट गरिदिएको छ, जसले स्थानीय कृषकहरूलाई गम्भीर आर्थिक संकटमा धकेलेको छ । गाउँपालिका अध्यक्ष बेदबहादुर शाहीका अनुसार जुनीचाँदे गाउँपालिकाका सबै वडामा गरिएको गहुँ खेतीमा व्यापक क्षति पुगेको छ । वडा नम्बर चार देखी १०  र  ११ मा सबैभन्दा बढी असर परेको उनले बताए ।

उनका अनुसार यस वर्षको विपद्ले खाद्य सुरक्षामा गम्भीर चुनौती सिर्जना गरेको छ र समयमै राहत तथा पुनःस्थापना नभए भोकमरीको जोखिम समेत बढ्न सक्ने अवस्था देखिएको छ ।  बाढीका कारण गाउँपालिकाका विभिन्न वडाहरू जोड्ने ग्रामीण सडक सञ्जाल पूर्ण रूपमा अवरुद्ध भएका छन् । अध्यक्ष शाहीका अनुसार कम्तीमा पाँच वडामा सडक सम्पर्क टुटेको छ, जसले गर्दा सवारी साधन सञ्चालन ठप्प भएको छ । स्थानीय बासिन्दाहरू दैनिक आवतजावतका लागि पैदल हिँड्न बाध्य भएका छन् भने मोटरसाइकल समेत सञ्चालन गर्न नसकिने अवस्था रहेको छ। यसले आपतकालीन सेवा तथा राहत सामग्री ढुवानीमा समेत समस्या उत्पन्न गरेको छ ।

प्राकृतिक विपद्को प्रभाव बस्तीहरूमा पनि गम्भीर रूपमा देखिएको छ । वडा नम्बर ३ स्थित सानोखोलामा बाढीले सात वटा घरमा ठूलो क्षति पु¥याएको छ । ती घरहरू बस्न अयोग्य बनेपछि प्रभावित परिवारहरू हाल आफन्तको घर वा अस्थायी टहरामा बस्न बाध्य भएका छन् । त्यस्तै, वडा नम्बर १० को देउसुले बस्तीमा समेत बाढी पसेपछि स्थानीय बासिन्दाहरू त्रसित अवस्थामा छन् । यसका साथै वडा नम्बर ८ मा रहेको स्वास्थ्य चौकी र वडा कार्यालयमा समेत बाढीले क्षति पु¥याएको छ, जसले आधारभूत सेवा प्रवाहमा अवरोध सिर्जना गरेको छ

गाउँपालिका अध्यक्ष शाहीले क्षतिको यथार्थ विवरण संकलन गर्न कार्यपालिका बैठकमार्फत विस्तृत मूल्याङ्कन प्रक्रिया अघि बढाइने जानकारी दिएका छन् । उनले प्रभावित क्षेत्रमा तत्काल राहत, खाद्यान्न र पुनःस्थापना कार्यक्रम आवश्यक रहेको बताएका छन् । यसैबीच, जाजरकोटबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खडकबहादुर बुढाले प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउन सरकार र सम्बन्धित निकायसँग समन्वय भइरहेको बताएका छन् । उनले बाढीबाट क्षतिग्रस्त सडक, खानेपानी, घर, अन्नबाली तथा पशुचौपायाको विस्तृत विवरण संकलन गरी राहत वितरण र पुनःनिर्माण प्रक्रिया अघि बढाइने जानकारी दिए ।

सांसद बुढाले आफु स्वयं पनि प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न र राहत सामग्रीसहित जाजरकोट जाने तयारीमा रहेको बताए ।  उनले विपद्बाट प्रभावित नागरिकहरूको सहयोगका लागि सबै सरकारी निकाय, संघसंस्था, स्थानीय तह र सरोकारवालालाई एकजुट भएर अघि बढ्न आग्रह गरेका छन् । स्थानीय बासिन्दाहरूले भने तत्काल राहत, खाद्यान्न, अस्थायी आवास र पूर्वाधार पुनःनिर्माणमा सरकारको सक्रियता आवश्यक रहेको बताएका छन्। प्राकृतिक विपद्ले कृषिमा निर्भर समुदायलाई ठूलो धक्का दिएको भन्दै दीर्घकालीन समाधानका लागि जोखिम न्यूनीकरण र पूर्वतयारीका कार्यक्रम प्रभावकारी रूपमा लागू गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।

प्रकाशित मिति : २०८३ वैशाख २० गते आइतबार