सल्यान । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका–११ पाँचरे क्षेत्रमा लागेको डढेलोका कारण स्थानीय बासिन्दा गम्भीर खानेपानी संकटमा परेका छन् । तीन दिनदेखि निरन्तर फैलिएको आगलागीले वन क्षेत्र मात्र नभई खानेपानी आपूर्ति प्रणालीमा समेत क्षति पु¥याएको छ स्थानीयका अनुसार डढेलोका कारण खानेपानीका मुख्य पाइप जलेर नष्ट भएका छन्, जसले गर्दा बस्तीमा पानी आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ । गर्मीयामसँगै बढेको पानीको मागबीच पाइपलाइन बिग्रिँदा दैनिक जीवन कष्टकर बनेको छ ।
स्थानीय बासिन्दाहरूले टाढा–टाढाबाट पानी बोकेर ल्याउन बाध्य भएको स्थानीय सामाजिक अभियन्ता राजेन्द्र विक (राजन) ले जानकारी दिए । उनका अनुसार आगो नियन्त्रणका लागि स्थानीयवासी, सुरक्षाकर्मी तथा स्वयंसेवकहरू खटिए पनि अझै पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । भौगोलिक विकटता, हावाहुरी र पर्याप्त स्रोत–साधनको अभावका कारण आगो निभाउन कठिनाइ भइरहेको उनी बताउँछन् । यसबारे जनप्रतिनिधि तथा सम्बन्धित निकायलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छौं’ उनले भने, ‘वडा अध्यक्ष, नगर प्रमुख, प्रदेश सभा सदस्य तथा अन्य सरोकारवाला पक्षलाई समन्वय गरी खानेपानी समस्या समाधानमा अग्रसर हुन अपिल छ ।
आगो नियन्त्रणसँगै वैकल्पिक रूपमा नयाँ पाइपलाइन जडान गरी घर–घरमा पानी उपलब्ध गराउन ढिलाइ गर्न नहुने उनले बताए । स्थानीय तहले आपतकालीन योजना अन्तर्गत पानी ट्यांकर वा अस्थायी वितरण प्रणाली सञ्चालन गर्नुपर्ने माग पनि उठाइएको छ । डढेलोका कारण वन क्षेत्रमा व्यापक क्षति पुगेको अनुमान गरिएको छ भने वातावरणीय असर पनि बढ्दै गएको छ । सम्बन्धित निकायले शीघ्र आगो नियन्त्रण र खानेपानी आपूर्ति पुनःस्थापनाका लागि आवश्यक स्रोत परिचालन गर्नुपर्ने स्थानीयको जोड छ । यता गाउँपालिकाले पनि खानेपानी समस्या समाधानका आवश्यक सहयोग गर्ने आश्वासन दिएको छ ।
भने आगलागीपछि अवरुद्ध खानेपानी सञ्चालन गर्ने कोसिस गरे पनि स्थानीयवासीलाई सकस परेको छ । भने डिभिजन वन कार्यालय सल्यानका सूचना अधिकारी ललितजंग खड्काका अनुसार जिल्लाका ५१ वनमा लागेको डढेलोले दुई हजार ७८०.६८ हेक्टर वनमा क्षति पुगको छ । सल्यानमा सल्लाको जंगल भएकाले पनि डढेलोको जोखिम बढिरहेको उनले बताए । उनका अनुसार आगलागी नियन्त्रणका लागि सामुदायिक वनका पदाधिकारी तथा उपभोक्ता र आमनागरिकलाई सचेतनामूलक कार्यक्रम गर्दै आएको उनी बताउँछन्







