२०८३ वैशाख २२ , मंगलबार

जुम्लामा सफल न्युरो सर्जरी



जुम्ला ।  जुम्लाको पातारासी गाउँपालिका–३ निवासी गोरबहादुर बोहरा छतबाट खसेर गम्भीर घाइते भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा भर्ना गरिएको छ । अस्पतालको इमरजेंसीमा ल्याउँदा उनि बेहोस अवस्थामा थिए  र तत्काल भेन्टिलेटरमा राखिएको थियो । प्रारम्भिक रूपमा अस्पतालमा न्युरो सर्जन उपलब्ध नभएकाले बिरामीलाई अन्यत्र रेफर गर्ने तयारी गरिएको थियो । तर प्रतिकूल मौसमका कारण हवाई उद्धार सम्भव हुन सकेन । यसैबीच डा. निलम खड्का जुम्लामा रहेको जानकारी प्राप्त भयो । उनी निजी कामका सिलसिलामा गुठिचौरस्थित विपश्यना केन्द्रमा १० दिने ध्यान तथा स्वयंसेवक प्रशिक्षणमा सहभागी थिए ।

बिरामीका आफन्त र स्थानीय जनप्रतिनिधिहरूले गुठिचौर पुगेर शल्यक्रियाका लागि अनुरोध गरेपछि डा. खड्का ध्यानस्थलबाट बाहिर निस्केर तुरुन्तै कर्णाली प्रतिष्ठान पुगे । गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष जनमाया रोकाया र समाजसेवी शिक्षक जयशंकर धितालले समन्वयमा सहयोग गरेका थिए । डा. खड्काको नेतृत्वमा रहेको चिकित्सक टोलीले करिब छ घण्टा लगाएर बिरामीको टाउकोमा जमेको रगत सफलतापूर्वक  निकालेको हो । शल्यक्रियापछि बिरामीको अवस्था सुधार हुँदै गएको छ । बिरामीका छोरा दीपराज बोहराका अनुसार जहाज पनि आएन, काठमाडौँ लैजाने आर्थिक अवस्था पनि थिएन । डा. खड्काको सहयोगले बुबाको ज्यान बच्यो ।

शल्यक्रिया विभाग प्रमुख डा. निर्मल थापाका अनुसार, उक्त अवसरमा थप तीन जना न्युरोसम्बन्धी बिरामीको समेत परीक्षण गरिएको थियो ।१८ वर्षदेखि न्युरो सर्जनका रूपमा कार्यरत डा. खड्काले सीमित स्रोत–साधनका बीच पनि शल्यक्रिया सफल भएकोमा खुशी व्यक्त गरे । उनले  यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा समेत सेवा दिइसक्नुभएको छ । स्थानीयले कर्णाली प्रतिष्ठानमा नियमित रूपमा न्युरो सर्जन सेवा सञ्चालन गर्नुपर्ने माग गर्दै आएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २२ गते मंगलबार