रुकुमपश्चिम । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११ अन्तर्गतका विभिन्न बस्तीमा केन्द्रीय विद्युत् लाइन विस्तार गरिएको छ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र रुकुमपश्चिमले उक्त क्षेत्रमा नयाँ ट्रान्सफर्मर जडान, ११ केभि प्रसारण लाइन विस्तार तथा लाइन चार्ज गर्ने कार्य सम्पन्न भएको जनाएको छ । वितरण केन्द्रका प्राविधिक प्रमुख पारस सुवेदीका अनुसार वडा नम्बर ११ को चिसापानीदेखि डाँडागाउँसम्म पूर्ण रूपमा नयाँ ११ केभि प्रसारण लाइन जडान गरिएको हो ।
यसअघि सो क्षेत्रमा केन्द्रीय विद्युत् सेवा नपुगेकाले स्थानीय बासिन्दा अँध्यारोमै बस्न बाध्य थिए । त्यसैगरी, सोही वडाअन्तर्गत पर्ने डाँडागाउँ र फारुला बस्तीमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । डाँडागाउँमा ५० केभिए क्षमताको र फारुलामा १५ केभिए क्षमताको ट्रान्सफर्मर जडान गरिएको प्राविधिक प्रमुख सुवेदीले जानकारी दिए । नयाँ ट्रान्सफर्मर जडानसँगै ती बस्तीमा वितरण लाइनसमेत विस्तार गरी विद्युत् सेवा नियमित रूपमा सञ्चालनमा ल्याइएको छ ।
ट्रान्सफर्मर चार्ज भएसँगै स्थानीयले विद्युत् उपभोग गर्न थालेका छन् । विद्युत् विस्तारसँगै स्थानीय बासिन्दाको दैनिक जीवनमा सहजता आउने, घरेलु कामकाज, शिक्षा र साना व्यवसाय सञ्चालनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ । साथै, यसले ग्रामीण क्षेत्रको समग्र विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।


