कालीकोट । बजारमा खाना पकाउने ग्यासको अभाव भएपछि कालीकोटका विभिन्न स्थानमा महिलाको कार्यबोझ उल्लेख्य रूपमा बढेको छ । ग्यास उपलब्ध नभएपछि खाना पकाउनका लागि दाउराको भर पर्नु परेको र त्यसका लागि महिलाहरू वनजङ्गल धाउन बाध्य भएका छन् । मध्यपूर्व क्षेत्रमा जारी द्वन्द्वका कारण नेपालमा ग्यास आपूर्तिमा समस्या देखिएको छ, जसको प्रभाव कालीकोटजस्ता दुर्गम जिल्लासम्म पुगेको छ । पछिल्लो समय बजार क्षेत्रसँगै गाउँमा पनि ग्यासको प्रयोग बढ्दै गएको थियो। तर अहिले बजारमै ग्यास नपाइने अवस्थाले ग्रामीण भेगका घरधुरीमा प्रत्यक्ष असर पारेको छ ।
विशेषगरी पुरुषहरू रोजगारीका लागि घरबाहिर रहने हुँदा घरायसी कामको मुख्य जिम्मेवारी महिलामाथि नै पर्ने गरेको छ । ग्यास अभाव भएपछि उनीहरूलाई खाना पकाउने वैकल्पिक स्रोतको रूपमा दाउरा खोज्न वनतिर जानु परिरहेको छ, जसले दैनिक श्रम र समय दुवै बढाएको छ । खाँडाचक्र नगरपालिका चार की २८ वर्षीया रेशमा विश्वकर्माले ग्यास अभाव सुरु भएसँगै आफ्नो कार्यबोझ बढेको बताइन । उनका अनुसार सिलिन्डरको मूल्यवृद्धिले समेत समस्या झन् चर्किएको छ । दाउरा प्रयोग गर्न छाडेको नौ वर्षपछि फेरि पुरानै अवस्थातिर फर्किनु परेको छ उनले भनिन् ।
त्यसैगरी, सोही स्थानकी सुमित्रा विश्वकर्माले बिहानै घरबाट निस्केर करिब तीन घण्टा टाढाको जङ्गलमा पुगेर दाउरा संकलन गर्नुपर्ने बाध्यता रहेको बताइन् । ग्यास महँगो र अभाव भएपछि दाउराको विकल्प रोज्नुपरेको छ उनले गुनासाे गरिन् उनले सरकारले ग्यासको मूल्य नियन्त्रण र आपूर्ति सहज बनाउन ध्यान दिनुपर्ने माग गरिन् । पाल्त महादेव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रविलाल पाण्डेका अनुसार पछिल्लो समय जङ्गलमा दाउरा खोज्न जानेको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।
चैत महिनायता उपभोक्ताको सङ्ख्या पहिलेभन्दा दोब्बर भएको छ, उनले भनिन् उनका अनुसार यसले वन क्षेत्रमा दबाब बढाएको छ र काँचो रुख कटान हुने जोखिम पनि बढ्दै गएको छ। रास्कोट नगरपालिका लगायतका क्षेत्रमा त दाउरा समेत अभाव हुन थालेको स्थानीयले बताएका छन् । ग्यास अभाव र वैकल्पिक स्रोतको कमीले सर्वसाधारणको दैनिकी झन् कठिन बन्दै गएको छ ।


