कालीकोट । खाँडाचक्र नगरपालिकाले निर्माण गरिरहेको प्रशासकीय भवन राष्ट्रिय सडक मापदण्ड विपरीत रहेको आरोपपछि विवादमा परेको छ । स्थानीयवासीले सडकको ‘राइट अफ वे’ अतिक्रमण गरी निर्माण कार्य अगाडि बढाइएको भन्दै विरोध जनाएका छन् । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिका एक जिरोप्वाइन्ट क्षेत्रमा निर्माण भइरहेको भवन सडकबाट आवश्यक दूरी नछाडिएको दाबी गरिएको छ ।
जानकारी अनुसार १० मिटर चौडाइको सडकमा मापदण्डअनुसार बढी दूरी आवश्यक भए पनि करिब छ मिटर मात्र छाडेर निर्माण सुरु गरिएको बताइएको छ । यस विषयमा सडक डिभिजन कार्यालय जुम्लाले सार्वजनिक सडक ऐन, २०३१ अनुसार निर्माण कार्य तत्काल रोक्न नगरपालिकालाई निर्देशन दिएको छ । कार्यालय प्रमुख श्रवणकुमार महताराका अनुसार भविष्यमा सडक विस्तार गर्दा समस्या नआओस् भनेर मापदण्डअनुसार निर्माण गर्न आग्रह गरिएको हो ।
यद्यपि, नगरपालिकाका इन्जिनियर सुमित भट्टले भने भवन निर्माण मापदण्डअनुसार नै भइरहेको दाबी गरेका छन् । उनका अनुसार नगर कार्यपालिकाको निर्णयका आधारमा काम अघि बढाइएको हो र निर्माण रोक्ने कुनै योजना छैन । करिब २५ करोड रुपियाँ लागत अनुमान गरिएको उक्त भवन निर्माण ठेक्का काठमाडौंस्थित आरएनसिएस बिल्डर्सले १९ करोडमा लिएको छ, जसलाई ४० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म निर्माण कम्पनीले पेस्कीस्वरूप करिब एक करोड ५० लाख रुपियाँ लिइसकेको छ ।
स्थानीयवासीले भने सडक नजिकै ठूलो संरचना निर्माण गर्दा भविष्यमा सडक विस्तारमा बाधा पुग्ने र सुरक्षा जोखिम बढ्ने चिन्ता व्यक्त गरेका छन् । निर्माणका क्रममा गरिएको खन्ने कामका कारण आसपासका घरहरू पहिरो जोखिममा परेको र केही परिवार विस्थापितसमेत हुनुपरेको स्थानीयको भनाइ छ । प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले भने सबै संरचना कडाइका साथ मापदण्डअनुसार हटाउने हो भने जिल्लामा व्यापक असर पर्ने भन्दै सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताएका छन् ।









