२०८३ जेठ ४ , सोमबार

सीमापास वितरण, चार सय लाभान्वित



हुम्ला ।  नाम्खा गाउँपालिकाका स्थानीयहरूले अब सीमापास लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ । जिल्ला प्रशासन कार्यालयले गाउँगाउँमै टोली खटाएर सीमापास वितरण गरेपछि सेवाग्राहीहरूले आफ्नै बस्तीमा सेवा पाएका हुन् । एकदेखि डेढ दिनसम्म पैदल यात्रा गरेर सिमकोट पुग्नुपर्ने समस्यालाई ध्यानमा राख्दै तीन दिने शिविर सञ्चालन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले जानकारी दिए । शिविरमार्फत चीनको ताक्लाकोट जान आवश्यक सीमापास वितरण गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीको पहलमा सञ्चालन गरिएको शिविरमा दुई दिन चन्द र एक दिन स्वयं प्रमुख जिल्ला अधिकारी रेग्मीले सीमापास वितरण गरेका थिए । यसबाट कुल चार सय जना सेवाग्राही लाभान्वित भएका छन् । वितरण गरिएका सीमापासमध्ये ५८ जना नयाँ सेवाग्राही रहेका छन् भने तिन सय ४२ जनाले नवीकरण गरेका छन् ।

सेवाग्राहीमध्ये ८९ वर्षीया एक महिलाले समेत सीमापास लिएकी छन् । नाम्खा गाउँपालिकाका याल्वाङ, मुचु, यारी र हिल्सा बस्तीमा पुगेर सेवा प्रदान गरिएको हो । स्थानीयका अनुसार यस सेवाबाट प्रति व्यक्तिले १२ देखि १४ हजार रुपैयाँसम्म खर्च बचत भएको छ, जुन रकम यसअघि सदरमुकाम आउजाउ र बसाइमा खर्च हुने गरेको थियो। स्थानीयले यस्ता शिविरलाई हरेक वर्ष निरन्तर सञ्चालन गर्न सुझाव दिएका छन् ।

प्रकाशित मिति : २०८३ वैशाख २३ गते बुधबार