२०८३ जेठ ४ , सोमबार

आँखा शिविरबाट ९७ ले लिए लाभ



जाजरकोट ।  छेडागाड नगरपालिकामा आयोजित निःशुल्क आँखा शिविरमार्फत ९७ जना मोतीबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र सुर्खेतको प्राविधिक सहयोग र छेडागाड नगरपालिकाको आर्थिक सहकार्यमा छेडागाड नगर अस्पतालमा दुई दिनसम्म शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखा रोग विशेषज्ञ डा ।

सबीना सापकोटाको नेतृत्वमा स्वास्थ्यकर्मी टोलीले बिरामीहरूको परीक्षण तथा उपचार सेवा प्रदान गरेको थियो । दुर्गम क्षेत्रमा दृष्टि गुमाएका नागरिकको सफल शल्यक्रिया गर्न पाउँदा आफू सन्तुष्ट भएको डा । सापकोटाले बताए । शल्यक्रियापछि दृष्टि फर्किएसँगै बिरामीहरूले खुसी व्यक्त गर्दै चिकित्सक टोलीप्रति आभार प्रकट गरेका थिए । छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्काले कठिन मौसमका बाबजुद प्रभावकारी सेवा प्रदान गरेको भन्दै स्वास्थ्यकर्मी टोलीको प्रशंसा गरे ।

नेपाल रेडक्रस सोसाइटी जाजरकोट आँखा उपचार केन्द्रका नेत्र अधिकृत प्रदीपजङ्ग शाहका अनुसार शिविरमा करिब ७ सय स्थानीयवासीले आँखा परीक्षण तथा उपचार सेवा लिएका छन् । शिविरको आयोजना तथा व्यवस्थापन नेपाल रेडक्रस सोसाइटी आँखा उपचार केन्द्र जाजरकोटले गरेको थियो ।

प्रकाशित मिति : २०८३ वैशाख २४ गते बिहीबार