जुम्ला । तातोपानी र तिला गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा म्याद सकिएका तथा उपभोग गर्न अयोग्य खाद्यवस्तु बरामद गरी नष्ट गरिएको छ । उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको नेतृत्वमा बुधबार तातोपानी दुई जर्मी तथा तिलाका सेरी, त्रिवेणी र कुडारी बजारमा अनुगमन गरिएको हो । अनुगमन टोलीले विभिन्न खुद्रा पसल, किराना, औषधि तथा कपडा पसलमा निरीक्षण गर्दा म्याद गुज्रिएका चाउचाउ, बिस्कुट, चोकोपाइ लगायतका खाद्य सामग्री बिक्रीका लागि राखिएको अवस्थामा फेला पारेको थियो ।
सामग्री करिब २९ हजार रुपैयाँ बराबरका रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका कार्यालय प्रमुख मन्दिरनाथ योगीले जानकारी दिए । बरामद गरिएका अखाद्य वस्तु तत्कालै नष्ट गरिएको उनले बताए । कार्यालय प्रमुख योगीका अनुसार बजारमा उपभोक्ताले गुणस्तरीय र सुरक्षित सामग्री उपभोग गर्न पाऊन् भन्ने उद्देश्यले नियमित रूपमा बजार अनुगमन गरिँदै आएको छ । पछिल्लो समय ग्रामीण बजार क्षेत्रमा समेत म्याद नाघेका सामग्री बिक्री हुने गुनासो बढेपछि अनुगमनलाई थप प्रभावकारी बनाइएको उनकाे भनाइ छ ।
अनुगमन टोलीले व्यवसायीलाई न्यूनतम कानुनी मापदण्ड पूरा गर्न निर्देशन दिएको छ । पसल दर्ता, मूल्यसूची राख्ने व्यवस्था, खरिद–बिक्री बिलको प्रयोग तथा म्याद गुज्रिएका वस्तु बिक्री नगर्न विशेष आग्रह गरिएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी मीनबहादुर रावलले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने विषयमा कुनै पनि लापरवाही स्वीकार्य नहुने बताए । उनले म्याद सकिएका वस्तु बिक्री गर्नु कानुनविपरीत कार्य भएकाले पुनः त्यस्ता सामग्री पसलमा भेटिए कडा कारबाही गरिने चेतावनी दिए । बजार व्यवस्थापन र उपभोक्ता अधिकार संरक्षणका लागि स्थानीय प्रशासन निरन्तर सक्रिय रहने उनकाे भनाई छख ।
त्यस्तै, तिला गाउँपालिका उपाध्यक्ष गोरिकला बुढाले सबै व्यवसायीलाई कानुनबमोजिम व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्न आग्रह गरे । उनले ग्रामीण क्षेत्रका उपभोक्ता अझै पनि सचेतनाको अभावमा गुणस्तरहीन तथा म्याद नाघेका सामग्री प्रयोग गर्न बाध्य हुने अवस्था रहेको उल्लेख गर्दै उपभोक्ताले पनि सामग्री खरिद गर्दा मिति, गुणस्तर र मूल्यबारे ध्यान दिनुपर्ने बताए । अनुगमनका क्रममा केही व्यवसायीलाई आवश्यक कागजात व्यवस्थित गर्न मौखिक निर्देशन दिइएको थियो भने केहीलाई सचेत गराइएको जनाइएको छ। स्थानीयवासीले बजार अनुगमनलाई निरन्तरता दिन माग गरेका छन् ।
उनीहरूले ग्रामीण क्षेत्रमा अनुगमन कम हुने भएकाले कतिपय व्यवसायीले म्याद गुज्रिएका तथा गुणस्तरहीन सामग्री बिक्री गर्ने गरेको गुनासो गरेका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आगामी दिनमा पनि जिल्लाका विभिन्न स्थानीय तहमा नियमित अनुगमनलाई निरन्तरता दिइने जनाएको छ । उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि प्रशासन, स्थानीय तह र सरोकारवाला निकायबीच समन्वय गरी प्रभावकारी अनुगमन अभियान सञ्चालन गरिने बताइएको छ ।









