सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा संरक्षणका लागि अतिक्रमण विरुद्ध कडा अभियान सुरु गरेको छ । नगरपालिकाले बुधबार सार्वजनिक सूचना जारी गर्दै नगर क्षेत्रभित्र सार्वजनिक जग्गा ओगटेर बनाइएका घरटहरा तथा अन्य भौतिक संरचना सात दिनभित्र हटाउन सम्बन्धित पक्षलाई अन्तिम चेतावनी दिएको हो । नगरपालिकाका अनुसार विशेष गरी वडा नं. ८ मा रहेको महिला छात्रावासको पूर्वतर्फको सार्वजनिक जग्गामा बनेका संरचनालाई लक्षित गर्दै सूचना जारी गरिएको छ । उ
क्त क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका टहरा, अस्थायी संरचना तथा नगर विकास समितिसँग सम्झौता गरी बनाइएका केही भौतिक संरचनासमेत हटाउन आग्रह गरिएको छ । नगरपालिकाले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशन तथा चालु आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत नीति, कार्यक्रम र बजेट अनुसार सो क्षेत्रमा आधुनिक खेलकुद मैदान निर्माण गर्ने योजना अघि बढाएको जनाएको छ । नगरपालिकाका अधिकारीका अनुसार सार्वजनिक प्रयोजनका लागि छुट्याइएको जग्गामा अव्यवस्थित बसोबास र निजी संरचना बढ्दै गएपछि विकास निर्माणका काम प्रभावित हुँदै आएका छन् ।
नगरपालिकाले तोकेको समयसीमाभित्र स्वेच्छिक रूपमा संरचना नहटाए प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट पारेको छ । सूचनामा उल्लेख भएअनुसार सात दिनभित्र अतिक्रमण हटाउन बेवास्ता गरे नगरपालिकाले आफ्नै पहलमा डोजर प्रयोग गरी संरचना हटाउनेछ । साथै, संरचना हटाउँदा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित संरचनाधनीबाटै असुल गरिने चेतावनी दिइएको छ । नगरपालिकाको यो कदमलाई सार्वजनिक सम्पत्तिको संरक्षण, व्यवस्थित सहरी विकास तथा सुशासन प्रवर्द्धनको प्रयासका रूपमा हेरिएको छ । वीरेन्द्रनगर तीव्र रूपमा विस्तार हुँदै गएको सहर भएकाले सार्वजनिक जग्गा संरक्षण चुनौतीपूर्ण बन्दै गएको स्थानीयवासी बताउँछन् ।
नगरपालिकाले सार्वजनिक जग्गाको दुरुपयोग रोक्दै विकासका दीर्घकालीन योजना कार्यान्वयनमा ध्यान केन्द्रित गरेको जनाएको छ । प्रस्तावित खेलकुद मैदान निर्माणपछि स्थानीय युवालाई खेल गतिविधिमा प्रोत्साहन मिल्नुका साथै नगरको सौन्दर्यीकरणमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ । स्थानीय तहले सार्वजनिक जग्गाको संरक्षणमा देखाएको सक्रियताले आगामी दिनमा अन्य अतिक्रमित क्षेत्रको व्यवस्थापनमा समेत प्रभाव पार्ने विश्वास गरिएको छ ।









