सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल ले विकास साझेदार संस्थालाई कर्णालीका लागि प्राप्त बजेट प्रभावकारी रूपमा उपयोग गर्न आग्रह गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार आयोजना गरेको समन्वय बैठकमा उनले कर्णालीको गरिबी, अशिक्षा, बेरोजगारी र अभाव हटाउन लक्षित कार्यक्रमले प्रदेशको सूचकाङ्कमा वास्तविक सुधार ल्याउनुपर्ने बताए । उनले विकास साझेदार संस्थालाई एउटै क्षेत्रमा दोहोरो कार्यक्रम नगरी फरक–फरक स्थानमा नमुनायोग्य काम गर्न सुझाव दिए । साना–साना काम धेरै ठाउँमा छरिनु भन्दा एउटै स्थानमा प्रभावकारी र दीर्घकालीन पहिचान दिने परियोजना सञ्चालन गर्नु आवश्यक छ, उनले बताए ।
मुख्यमन्त्री कँडेलले भौगोलिक रूपमा जटिल कर्णालीमा विकास साझेदार संस्थाको योगदान महत्त्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा अझ समन्वयात्मक र परिणाममुखी काम हुने अपेक्षा व्यक्त गरे । उनले प्रदेश सरकारको नीति तथा योजनालाई सहयोग पुग्ने गरी कार्यक्रम सञ्चालन गर्न आग्रह गर्दै सरकार र साझेदारबीच सहकार्य अपरिहार्य रहेको बताए । बैठकमा कर्णाली प्रदेशका प्रमुख सचिव वीरेन्द्रकुमार यादव ले पनि विकास साझेदार संस्थालाई प्रदेश सरकारसँग समन्वय गरेर एकीकृत ढंगले काम गर्न आग्रह गरे ।
उनले कर्णालीमा कार्यरत दुई दर्जनभन्दा बढी संस्थाले सञ्चालन गरेका कार्यक्रमबाट प्रदेशको समग्र अवस्थामा सकारात्मक परिवर्तन आउनुपर्ने धारणा राखे । कार्यक्रममा २३ वटा विकास साझेदार संस्थाले आफ्नो बजेट, कार्यक्षेत्र, उपलब्धि र चुनौतीबारे प्रस्तुति दिएका थिए । विश्व स्वास्थ्य सङ्गठन, अन्तर्राष्ट्रिय श्रम सङ्गठन, विश्व खाद्य कार्यक्रम लगायत संस्थाले कर्णालीमा भौगोलिक कठिनाइ, दक्ष जनशक्तिको अभाव, न्यून बजेट, नीति–नियमको जटिलता र परम्परागत सोचजस्ता चुनौतीका कारण विकास कार्यक्रम प्रभावित भएको बताएका थिए ।









