२०८३ वैशाख २८ , सोमबार

त्रिपुरासुन्दरी पूर्ण खोप सुनिश्चितता पालिका घोषित



डोल्पा । त्रिपुरासुन्दरी नगरपालिकालाई जिल्लामै पहिलो पटक पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको छ । नगरपालिकाभित्र रहेका २३ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार आवश्यक खोप प्राप्त गरेपछि नगरलाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको हो । शुक्रबार आयोजित घोषणा सभामा “स्थानीय स्वामित्व र सहभागिता : पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारासहित कार्यक्रम सम्पन्न गरिएको थियो । कार्यक्रममा नगरप्रमुख जनचन्द्र रोकायाको सभाध्यक्षता तथा श्यामबहादुर रोकायाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत राजु कुँवर, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जनस्वास्थ्य निरीक्षक तुलबहादुर श्रेष्ठका अनुसार नगरपालिकाका सबै वडामा रहेका २३ महिनासम्मका बालबालिकाले नियमित रूपमा राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका सबै खोप प्राप्त गरेपछि पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो । उहाँले त्रिपुरासुन्दरी नगरपालिका डोल्पा जिल्लामै यस्तो घोषणा हुने पहिलो स्थानीय तह बनेको जानकारी दिनुभयो ।

कार्यक्रमका क्रममा नगर क्षेत्रभित्र कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । पूर्ण खोप अभियान सफल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाले समुदायस्तरमा खेलेको सक्रिय भूमिकाको कदर गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । नगरपालिकाले खोप अभियानलाई प्रभावकारी बनाउन स्वास्थ्य संस्थासँग समन्वय, घरदैलो अभियान तथा अभिभावकमाझ जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कार्यक्रम त्रिपुरासुन्दरी नगरपालिकाको आयोजना तथा नगर कार्यपालिकाको कार्यालय त्रिपुराकोट, डोल्पाको समन्वयमा सम्पन्न भएको हो ।

प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार