सल्यान । जिल्लास्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । जिल्लाभरका करिब आठ सय विद्यार्थी खेलाडीको सहभागितामा बनगाड कुपिण्डे नगरपालिका एक देवस्थलस्थित राताचौर खेलमैदानमा प्रतियोगिता सञ्चालन भएको हो । तीन दिनसम्म चल्ने प्रतियोगिताको उद्घाटन प्रतिनिधिसभा सदस्य रमेशकुमार मल्लले गरे ।
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य भीमप्रकाश शर्मा, जिल्ला समन्वय समिति सल्यानका प्रमुख बेलाराम रावल, विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार तथा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । जिल्लाका १० वटै स्थानीय तहबाट विद्यार्थी खेलाडी सहभागी भएको प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, मार्सल आर्टलगायत विभिन्न खेल विधामा प्रतिस्पर्धा सुरु भएको जिल्ला खेलकुद विकास समिति सल्यानले जनाएको छ ।
जिल्ला खेलकुद विकास समिति सल्यानका अध्यक्ष खड्ग आचार्यको अध्यक्षतामा उद्घाटन भएको प्रतियोगितामा विभिन्न खेल सञ्चालनका लागि करिब ४० जना निर्णायक परिचालन गरिएको छ । अध्यक्ष आचार्यका अनुसार प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगिताका लागि छनोट गरिनेछ ।
प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार








