हुम्ला । सरकारी स्वामित्वको नेपाल एयरलाइन्स ले हुम्ला जिल्लाका लागि नियमित हवाई सेवा विस्तार गरेको छ । स्थानीय बासिन्दा र यात्रुको बढ्दो मागलाई ध्यानमा राख्दै निगमले उडान सङ्ख्या थप गरेको जनाएको छ । नयाँ व्यवस्था अनुसार अब नेपालगन्ज–सुर्खेत–सिमकोट रुटमा सातामा चार पटक उडान सञ्चालन हुने भएको छ । यसअघि उक्त रुटमा सातामा तीन उडान मात्र हुँदै आएका थिए ।
एयरलाइन्सका प्रतिनिधि छिरिङ लामाका अनुसार हवाई यातायातको अभाव झेलिरहेका हुम्लावासीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले उडान थप गरिएको हो । संशोधित उडान तालिका वैशाख २६ गतेदेखि कार्यान्वयनमा आएको छ । नयाँ तालिका अनुसार सोमबार, बुधबार र शुक्रबार सिमकोट–सुर्खेत तथा सिमकोट–नेपालगन्ज रुटमा नियमित उडान हुनेछ ।
थप गरिएको सेवासँगै दुर्गम क्षेत्रका यात्रुलाई आवतजावतमा केही सहज हुने अपेक्षा गरिएको छ । नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, १२ वर्षमुनिका बालबालिका तथा विद्यार्थीलाई विशेष सहुलियत दिने व्यवस्था पनि कायम राखेको जनाएको छ । यसैबीच, निगमले हवाई भाडादरमा समेत वृद्धि गरेको छ । नयाँ दर अनुसार नियमित उडानका लागि प्रति यात्रु १८ हजार रुपैयाँ टिकट शुल्क निर्धारण गरिएको छ ।








