जुम्ला । जिल्लाकाे तिला गाउँपालिका–५ स्थित डुङ्ग्री गाउँ अझै पनि आधारभूत पूर्वाधारबाट वञ्चित बनेको छ । एउटै वडाका चुलाकोट, खोलिगाउँ र ढिम्कोटमा करिब एक वर्षअघि विद्युत् सेवा पुगे पनि डुङ्ग्री गाउँमा भने अहिलेसम्म बिजुली जडान हुन सकेको छैन । गाउँमा विद्युत्का पोल गाडिएको लामो समय बितिसक्दा पनि लाइन विस्तारको काम पूरा नभएकाले स्थानीयवासी निराश बनेका छन् । अहिले पनि स्थानीय दियालो र टुकीकै भरमा रात बिताउन बाध्य छन् । साँझ परेपछि गाउँ पूर्ण रूपमा अन्धकारमा डुब्ने गरेको स्थानीयवासीले बताएका छन् ।

स्थानीय नरेन्द्रबहादुर शाहीका अनुसार विद्युत् अभावका कारण बालबालिकाको पढाइ प्रभावित भएको छ भने महिलाहरू र ज्येष्ठ नागरिकलाई दैनिक कामकाज गर्नसमेत कठिनाइ भइरहेको छ । विद्युत् आउने आशामा बसेका गाउँले लामो समयसम्म काम सम्पन्न नभएपछि निराश बनेका छन् । अर्का स्थानीय भुपेन्द्र शाहीले विद्युत्का पोल गाडिएको वर्ष बितिसक्दा पनि बत्ती नबल्नु दुःखद भएको बताए । उनका अनुसार विकासका आधारभूत सेवा नपुग्दा गाउँलेको जीवन कष्टकर बनेको छ । डुङ्ग्री गाउँ भौगोलिक रूपमा विकट भएकाले सडक सञ्जालसमेत पुग्न सकेको छैन । सडक अभावका कारण स्थानीयले उत्पादन गरेका कृषि उपज बजारसम्म पुर्याउन समस्या भोगिरहेका छन् ।
गाउँमा फापर, सिमी, गहुँ, मकै, जौ, कोदो, चिनो, कागुनो र भटमासजस्ता रैथाने बाली उत्पादन हुने भए पनि उचित बजार नपाउँदा किसानले अपेक्षित मूल्य पाउन सकेका छैनन् । स्थानीयका अनुसार उत्पादन बोकेर घण्टौँ पैदल यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । सडक नहुँदा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्नसमेत कठिनाइ हुने गरेको छ । वर्षायाममा बाटो झन् जोखिमपूर्ण बन्ने भएकाले बिरामीलाई स्वास्थ्य संस्थासम्म पुर्याउन समस्या हुने गरेको स्थानीयको भनाइ छ । प्रशासनिक सेवा लिनसमेत स्थानीयले सास्ती खेप्नुपरेको छ । वडा कार्यालय रहेको चुलाकोट पुग्न चारदेखि पाँच घण्टा पैदल हिँड्नुपर्ने अवस्था रहेको जनाइएको छ । नागरिकता, सामाजिक सुरक्षा भत्ता र विभिन्न सिफारिस लिन दिनभर समय खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीयले बताएका छन् ।
स्थानीयवासीले विकट बस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका काम अघि बढाउन सरकारसँग माग गरेका छन् । स्थानीय भुमिकला शाहीले अझै पनि अन्धकारमै जीवन बिताउनुपरेको गुनासो गर्दै तत्काल विद्युत् सेवा सञ्चालन, सडक विस्तार तथा कृषि उत्पादनको बजारीकरणमा पहल गर्न आग्रह गरे । वडा अध्यक्ष ललित शाहीले सडक निर्माणको काम जारी रहेको र विद्युत् जडानका लागि नेपाल विद्युत् प्राधिकरण सँग समन्वय भइरहेको जानकारी दिए । सीमित बजेटका कारण विकास निर्माणका काम अपेक्षा अनुसार अघि बढ्न नसकेको उनकाे भनाइ छ ।







