२०८३ वैशाख २८ , सोमबार

बाढीपहिराेले कृषि र पूर्वाधारमा ठुलो क्षति



सल्यान ।  अविरल वर्षासँगै आएको बाढीपहिरोले सल्यानका विभिन्न क्षेत्रमा कृषि तथा पूर्वाधार क्षेत्रमा ठुलो क्षति पुर्‍याएको छ । शनिबार करिब दुई घण्टा परेको मुसलधारे वर्षापछि शारदा नदी तथा विभिन्न खहरेखोलामा आएको बाढीले बागचौर नगरपालिका र छत्रेश्वरी गाउँपालिकाका विभिन्न योजना प्रभावित बनेका हुन् । बाढीका कारण बागचौर नगरपालिका छ देखी नाै र १० तथा छत्रेश्वरी गाउँपालिका एक र दुई मा सडक, खानेपानी, सिँचाइ कुलो, तटबन्धलगायतका दर्जनौँ योजनामा क्षति पुगेको स्थानीय तहले जनाएको छ । दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएका छन् भने खानेपानी तथा सिँचाइ आयोजनामा व्यापक क्षति पुगेको छ ।

शारदा नदीमा आएको बाढीले एक सय रोपनीभन्दा बढी खेतमा लगाइएको गहुँ, तरकारी तथा सुन्तलाबाली नष्ट भएको छ। स्थानीयका अनुसार बाढीले गहुँ बोकेको ट्याक्टर, पानीघट्ट तथा जलिरहेको शवसमेत बगाएको थियो। लगातारको वर्षाका कारण पहिरो जाँदा दुई घरमा समेत क्षति पुगेको जनाइएको छ । बाढीपहिरोका कारण सडक चिराचिरा पर्नुका साथै कल्भर्ट र ह्युमपाइप बग्दा बागचौर नगरपालिकाका विभिन्न सडकमा यातायात सेवा अवरुद्ध भएको छ । खानेपानीका मुहान पुरिनुका साथै पाइप र ट्याङ्कीमा क्षति पुगेपछि स्थानीयवासी खानेपानी संकटमा परेका छन् ।

स्थानीय जनप्रतिनिधि यज्ञबहादुर डाँगीका अनुसार बाढीले वडाभित्रका तीन दर्जनभन्दा बढी सडकमा क्षति पुर्‍याएको छ । उनले चार वटा खानेपानी योजनाका मुहान पुरिनुका साथै ट्याङ्की र पाइपमा समेत क्षति पुगेको जानकारी दिए । “लगातारको वर्षाले किसानले लगाएको अदुवा, आलु र सुन्तलाबालीमा समेत ठूलो नोक्सानी पुगेको छ, उनले भने  सडक बिग्रिएकाले सवारी सञ्चालन हुन सकेको छैन भने तीन सयभन्दा बढी परिवार खानेपानीका लागि टाढा जान बाध्य भएका छन् । ज्ञानबहादुर वलीका अनुसार गत वर्ष मात्रै निर्माण सम्पन्न भएको ५० लाख रुपैयाँ लागतको हिमचौर खानेपानी योजनामा क्षति पुग्दा करिब एक सय २० परिवार प्रभावित भएका छन् ।

त्यस्तै, प्रेमबहादुर डिसीले बाढीले दर्जनभन्दा बढी सिँचाइ कुलो तथा खानेपानी योजनामा क्षति पुर्‍याएको जानकारी दिए । उनका अनुसार एक सय रोपनीभन्दा बढी खेत पुरिनुका साथै ह्युमपाइप र कल्भर्टसमेत बगेका छन् । सुशीलजङ्ग चन्दले चार वटा खानेपानी योजनाका मुहान पुरिएको बताउँदै मर्मतका लागि नगरपालिकासँग आग्रह गरिएको जानकारी दिए । ज्ञानप्रसाद शर्मा धितालले कालाखेत क्षेत्रमा निर्माणाधीन तटबन्धमा क्षति पुगेको बताए । यस्तै, प्रकाश हमालका अनुसार बाढीले फारुली–दहखोली–लाखुरीबोट क्षेत्रमा निर्माणाधीन पदमार्गको स्ल्याब ढलान बगाएको छ भने लसुने–काफलाबाङ खानेपानी योजनामा समेत क्षति पुगेको छ ।

वर्षासँगै परेको असिनाले किवी र सुन्तलाबालीमा थप क्षति पुर्‍याएको जनप्रतिनिधिहरूले बताएका छन् । यसअघि परेको असिनापानीले कपुरकोट क्षेत्रसहित बागचौर र छत्रेश्वरीका सुन्तला बगैंचामा ठूलो नोक्सानी पुर्‍याएको थियो । हाल प्रभावित क्षेत्रमा क्षतिको विवरण संकलन तथा मर्मतको तयारी भइरहेको स्थानीय तहले जनाएको छ । कृषि ज्ञान केन्द्र सल्यानका प्रमुख महेश आचार्यले पछिल्ला दिनमा आएको हावाहुरी, असिना र वर्षाले फलफूल, तरकारी तथा कृषि बालीमा व्यापक क्षति पुगेको गुनासो आएको बताउँदै स्थानीय तहसँग समन्वय गरेर क्षतिको विवरण संकलन गरिने जानकारी दिए ।

प्रकाशित मिति : २०८३ वैशाख २८ गते सोमबार