हुम्ला । सिमकोट गाउँपालिका छ पाउवाडा क्षेत्रमा स्थानीयवासीले व्यक्तिगत जग्गा उपलब्ध गराउनुका साथै सडक क्षेत्रमा पर्ने घर हटाउन सहमति जनाएपछि भित्री सडक निर्माण कार्यले तीव्रता पाएको छ । तीन वर्षअघि योजना बने पनि स्थानीय सहमति अभावका कारण रोकिएको सडक निर्माण यस वर्षदेखि प्रभावकारी रूपमा अघि बढाइएको हो । पाउवाडाको मुग्राधाराबाट तलीवाडासम्म मुख्य सडकसँग जोड्ने भित्री सडक विस्तार भइरहेको स्थानीय राजु रावतले जानकारी दिए ।
पहिले दुईदेखि तीन मिटर चौडाइ रहेको बाटोलाई अहिले पाँच मिटर चौडाइमा विस्तार गर्ने काम भइरहेको उनले बताए । गत वर्षसम्म स्थानीयले निजी जग्गा दिन र सडक क्षेत्रमा पर्ने घर भत्काउन अस्वीकार गरेकाले निर्माण कार्य रोकिएको थियो । वडा अध्यक्ष नन्द रावतको पहलमा बसेको छलफलपछि सहमति जुटेपछि सडक निर्माणले गति लिएको हो । सडक विस्तारका क्रममा चौत्थादेखि जोगी पिन्यारासम्म रहेका स्याउ, चुली र आरुका बिरुवा हटाइएको छ भने केही स्थानमा ग्यावियन वाल निर्माणको काम पनि भइरहेको छ । सडक क्षेत्रमा पर्ने घरका सिँढीसमेत हटाइएका छन् ।
तलीवाडा क्षेत्रमा मात्रै १६ वटा घर भत्काइएको वडा अध्यक्ष रावतले बताए । भत्काइएका घरका आवश्यक संरचना पुनः निर्माण गर्ने जिम्मेवारी सिमकोट गाउँपालिकाले लिएको छ । सिमकोट गाउँपालिकाको “भित्री बस्ती सडक विस्तार कार्यक्रम” अन्तर्गत निर्माण भइरहेको यो सडक मुग्राधारा, चौत्था, तलीवाडा हुँदै सञ्चार टोलसम्म विस्तार गरिनेछ । असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । सडक निर्माणपछि उक्त क्षेत्रमा सवारी साधन सञ्चालन हुने र स्थानीयको आवतजावत सहज हुने अपेक्षा गरिएको छ । उपभोक्ता समिति मार्फत सञ्चालन भइरहेको यस आयोजनाका लागि गाउँपालिकाले १७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।









