सल्यान । जिल्लाको बागचौर नगरपालिका मा खेलकुद पूर्वाधार विकासलाई प्राथमिकता दिँदै ४५ लाख रुपैयाँ लागतमा ब्याडमिन्टन कवर्ड हल निर्माण कार्य सुरु गरिएको छ। नगरपालिकाको वडा नं. दुई बागचौरमा निर्माण हुन लागेको उक्त हलले स्थानीय खेलकुद गतिविधिलाई थप व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्ने, स्थानीय स्तरमै खेल प्रतिभाको पहिचान तथा विकास गर्ने र खेल गतिविधिका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउने उद्देश्यले कवर्ड हल निर्माण थालिएको नगरपालिकाले जनाएको छ ।
विशेषगरी ग्रामीण क्षेत्रमा खेलमैदान र आधुनिक खेल संरचनाको अभाव भइरहेका बेला यस्तो पूर्वाधार निर्माणले खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ । कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा निर्माण हुन लागेको कवर्ड हलको मङ्गलबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो । शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री भीमप्रकाश शर्मा, प्रदेशसभा सदस्य लक्ष्मी सुनार, नगरप्रमुख जनकराज गौतम, उपप्रमुख सुम्निमा डि.सी वली लगायत जनप्रतिनिधि, कर्मचारी, खेलप्रेमी तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै वक्ताहरूले खेलकुदको समग्र विकासका लागि पूर्वाधार निर्माण अपरिहार्य रहेको बताएका थिए। उनीहरूले ग्रामीण क्षेत्रमा कवर्ड हल, खेलमैदान तथा अन्य खेल संरचना निर्माण हुँदा युवाहरूमा खेलप्रति आकर्षण बढ्ने, अनुशासित र स्वस्थ समाज निर्माणमा सहयोग पुग्ने तथा नयाँ खेल प्रतिभा उत्पादनका लागि आधार तयार हुने धारणा राखेका थिए। वक्ताहरूले स्थानीय तहमा पर्याप्त खेल पूर्वाधार निर्माण गर्न सके जिल्ला तथा प्रदेशस्तरका प्रतियोगिता सञ्चालन गर्न सहज हुने र यसले खेल पर्यटनको सम्भावनासमेत बढाउने उल्लेख गरे ।
उनीहरूको भनाइमा पछिल्लो समय युवाहरूमा बढ्दो कुलत र बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न खेलकुद प्रभावकारी माध्यम बन्न सक्छ। नगरपालिकाका अनुसार कवर्ड हल निर्माणको जिम्मा यरिङका निर्माण सेवाले पाएको छ । निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्न सम्बन्धित निर्माण कम्पनीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ । स्थानीयवासीहरूले पनि बागचौर क्षेत्रमा पहिलोपटक व्यवस्थित ब्याडमिन्टन कवर्ड हल निर्माण हुन लागेकामा खुशी व्यक्त गरेका छन् । उनीहरूले यस्तो संरचनाले स्थानीय खेलाडीलाई अभ्यासका लागि सहज वातावरण उपलब्ध गराउने र राष्ट्रियस्तरसम्म प्रतिस्पर्धा गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।









