२०८३ जेठ ५ , मंगलबार

पोषण कार्यक्रम कार्यान्वयनमा समीक्षा



वीरेन्द्रनगर । सुर्खेत जिल्लाका नाै वटै स्थानीय तहमा बहुक्षेत्रीय पोषण कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यसहित दुई दिने प्रदेशस्तरीय समीक्षा तथा पोषणमैत्री कार्यक्रम सम्बन्धी गोष्ठी सम्पन्न भएको छ । कार्यक्रम वीरेन्द्रनगर नगरपालिका स्थित होटल डि नमस्ते नेपालमा मिति २०८३ जेठ चार र पाँच गते आयोजना गरिएको हो । कार्यक्रम कर्णाली प्रदेश योजना आयोग को आयोजनामा सम्पन्न भएको हो भने केयर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सुन्दर नेपाल संस्था मार्फत सञ्चालित पोषण परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमको मुख्य उद्देश्य बहुक्षेत्रीय पोषण कार्यक्रमलाई कागजी नीति मात्र नभई स्थानीय तहसम्म व्यवहारिक रूपमा कार्यान्वयन गर्नु, पोषणमैत्री स्थानीय शासनलाई संस्थागत बनाउनु, तथा स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी र सरसफाइ क्षेत्रबीच समन्वय मजबुत बनाउँदै बाल तथा मातृ पोषण सुधार गर्नु रहेको आयोजकले जनाएको छ । गोष्ठीको अध्यक्षता कर्णाली प्रदेश योजना आयोग उपाध्यक्ष ले गरेका थिए । कार्यक्रमको सचिवी जिम्मेवारी गोपाल केसी ले समालेका थिए । त्यस्तै, केयर नेपालका तर्फबाट विस्तृत प्रस्तुती प्रकाश सुवेदी ले गरेका थिए भने कार्यक्रम सहजीकरण जीवन घिमिरे ले गरेका थिए ।

गोष्ठीमा सुर्खेत जिल्लाका नाै वटै स्थानीय तहका प्रमुख, उपप्रमुख, जनप्रतिनिधि, सम्बन्धित पालिकाका पोषण शाखा प्रमुख तथा विषयगत शाखाका कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । सहभागीहरूले आ–आफ्ना पालिकामा पोषण कार्यक्रमको हालको अवस्था, प्रगति, चुनौती र अवसरबारे विस्तृत प्रस्तुतीकरण गरेका थिए । कार्यक्रममा नेपाल सरकारद्वारा सञ्चालन भइरहेको बहुक्षेत्रीय पोषण कार्यक्रमको कार्यान्वयन अवस्था समीक्षा गरिएको थियो ।

सहभागी स्थानीय तहहरूले पोषणमैत्री स्थानीय शासन कार्यान्वयनमा देखिएका प्रमुख चुनौतीहरू प्रस्तुत गरेका थिए । विशेषगरी नीति कार्यान्वयनमा समन्वय अभाव, बजेटको सीमितता, प्राविधिक दक्ष जनशक्तिको कमी, र क्षेत्रगत समन्वय कमजोर हुँदा अपेक्षित नतिजा प्राप्त गर्न कठिनाइ भएको धारणा राखिएको थियो ।

गोष्ठीमा सहभागीहरूले पोषण सुधारका लागि निम्न पक्षमा जोड दिएका थिए

  • स्थानीय तहको वार्षिक योजना र बजेटमा पोषणलाई प्राथमिकता दिनुपर्ने
  • स्वास्थ्य, शिक्षा, कृषि, खानेपानी तथा सरसफाइ क्षेत्रबीच समन्वय मजबुत बनाउनुपर्ने
  • पोषणमैत्री स्थानीय शासनलाई कानुनी तथा संस्थागत रूपमा सुदृढ गर्नुपर्ने
  • समुदायस्तरमा सचेतनामूलक कार्यक्रम विस्तार गर्नुपर्ने
  • नियमित अनुगमन, मूल्यांकन तथा तथ्याङ्क व्यवस्थापन प्रणाली सुधार गर्नुपर्ने

कार्यक्रमको अन्त्यमा सहभागी सबै स्थानीय तहहरूले बहुक्षेत्रीय पोषण कार्यक्रमलाई व्यवहारिक रूपमा कार्यान्वयन गर्दै पोषणमैत्री स्थानीय शासनलाई संस्थागत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, आगामी दिनमा पोषण सुधारलाई दीगो बनाउन स्थानीय तह, प्रदेश सरकार र विकास साझेदारबीच अझ प्रभावकारी समन्वय आवश्यक रहेको निष्कर्ष निकालिएको छ । आयोजकका अनुसार यस गोष्ठीले सुर्खेत जिल्लाका सबै स्थानीय तहमा पोषण कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउन मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ जेठ ५ गते मंगलबार