२०८३ जेठ ६ , बुधबार

खेलकुद पत्रकार मञ्च सुर्खेतमा नयाँ कार्यसमिति चयन



सुर्खेत । नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नविन शाही निर्वाचित भएका छन् । बुधबार वीरेन्द्रनगरमा सम्पन्न मञ्चको दोस्रो साधारण सभाले शाहीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा रमा केसी, सचिवमा अप्सरा विष्ट, सहसचिवमा नविन सुवेदी तथा कोषाध्यक्षमा सिर्जना बुढाथोकी चयन भएका छन् । सदस्यहरूमा राकेश पौडेल (तिलक), टेकराज केसी, भावना राना र मिलन श्रेष्ठ रहेका छन् ।

साधारण सभामा बोल्दै निवर्तमान अध्यक्ष भानुभक्त अधिकारी ले खेलकुद पत्रकारिताको महत्व, जिम्मेवारी र चुनौतीबारे धारणा राख्दै खेल क्षेत्रको विकास तथा खेलाडीको पहिचान स्थापित गर्न खेल पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषद् का सदस्य सचिव रविन्द्र चन्द ले कर्णालीका खेलाडीलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउन र खेलाडीहरूको प्रोफाइल निर्माणमा मञ्चसँग सहकार्य गर्न परिषद् तयार रहेको बताए । उनले कर्णालीका लोपोन्मुख तथा परम्परागत खेलहरूको संरक्षण र प्रवर्द्धनमा पत्रकारहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । साथै कर्णालीमा आगामी दिनमा ‘पल्सर स्पोर्ट्स अवार्ड’ आयोजना गर्ने योजना रहेको जानकारी दिए ।

नेपाल खेलकुद पत्रकार मञ्चका केन्द्रीय प्रतिनिधि तथा सदस्य नविन लुइटेल ले आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन खेल पत्रकारहरूको भूमिका महत्वपूर्ण रहने बताए । उनले मोफसलमा खेल पत्रकारिताको विकासका लागि क्षमता अभिवृद्धि तालिम, फेलोसिप तथा खोजमूलक रिपोर्टिङलाई प्राथमिकता दिनुपर्ने सुझाव दिए ।

त्यसैगरी नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष सुशीलराज शर्मा ले मोफसलमा विधागत पत्रकारिता गर्न चुनौतीपूर्ण अवस्था रहेको उल्लेख गर्दै पछिल्लो समय सरकारले मिडिया र पत्रकारितालाई कमजोर बनाउने गतिविधि गरिरहेको आरोप लगाए । उनले लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयले प्रदेशका सञ्चारमाध्यम थप समस्यामा परेको बताए ।

प्रकाशित मिति : २०८३ जेठ ६ गते बुधबार