सुर्खेत । आगामी आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेश को आर्थिक वृद्धिदर घट्ने प्रारम्भिक अनुमान गरिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको प्रारम्भिक तथ्याङ्क अनुसार कर्णाली प्रदेशको स्थिर मूल्यमा मापन गरिएको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर २.९४ प्रतिशत रहने अनुमान गरिएको हो । चालु आर्थिक वर्ष २०८१/८२ मा भने यो वृद्धिदर ५.२५ प्रतिशत रहने संशोधित अनुमान गरिएको थियो । तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कर्णाली प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ताको मूल्यमा दुई खर्ब ७७ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा प्रदेशको कुल गार्हस्थ्य उत्पादन दुई खर्ब ६३ अर्ब रुपैयाँ रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान आगामी आर्थिक वर्षमा ४.२ प्रतिशत रहने प्रारम्भिक अनुमान गरिएको छ, जुन चालु आर्थिक वर्षको ४.३ प्रतिशतभन्दा केही कम हो । प्रतिवेदनअनुसार कर्णाली प्रदेशमा आगामी आर्थिक वर्षमा सबैभन्दा धेरै वार्षिक वृद्धिदर वित्तीय तथा बीमा सेवा क्षेत्रमा हुने अनुमान गरिएको छ ।
बैंक तथा वित्तीय संस्थामा निक्षेप सङ्कलन तथा ऋण प्रवाह विस्तार हुँदै जाँदा यस क्षेत्रको गतिविधि बढ्ने अपेक्षा गरिएको हो । पछिल्लो समय प्रदेशमा बैंकिङ पहुँच विस्तार, सहकारी तथा वित्तीय कारोबार बढ्दै गएकाले वित्तीय क्षेत्रले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अनुमान गरिएको छ । त्यस्तै विद्युत् तथा ग्यास क्षेत्रमा पनि उल्लेखनीय वृद्धि हुने अनुमान गरिएको छ । औद्योगिक तथा घरायसी विद्युत् उपभोगमा भएको वृद्धिका कारण उक्त क्षेत्रको विस्तार हुने बताइएको छ ।
यातायात पूर्वाधार विस्तार तथा सडक पहुँच बढ्दै जाँदा यातायात तथा भण्डारण क्षेत्रमा समेत सुधार आउने प्रारम्भिक अनुमान गरिएको छ । यद्यपि सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रमा भने न्यून वृद्धि हुने प्रक्षेपण गरिएको छ । सरकारी खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा उक्त क्षेत्रमा आर्थिक गतिविधि सुस्त रहने तथ्याङ्क कार्यालयले जनाएको छ । प्रदेशगत रूपमा हेर्दा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा विद्युत् तथा ग्यास क्षेत्रको वृद्धिदर सबैभन्दा उच्च रहने अनुमान गरिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने वित्तीय तथा बीमा सेवा क्षेत्रले सबैभन्दा धेरै वृद्धि गर्ने अनुमान गरिएको छ ।
प्रतिवेदनमा मधेश प्रदेशमा कृषि क्षेत्रको वृद्धिदर ऋणात्मक रहने उल्लेख गरिएको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक प्रशासन तथा रक्षा क्षेत्रको वृद्धिदर ऋणात्मक रहने अनुमान गरिएको छ । त्यस्तै कोशी प्रदेशमा पानी आपूर्ति तथा फोहोर व्यवस्थापन क्षेत्रको वृद्धिदर सबैभन्दा न्यून रहने प्रारम्भिक अनुमान सार्वजनिक गरिएको छ । यसैबीच आर्थिक वर्ष २०८२/८३ मा नेपालको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन एक हजार पाँच सय १३ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । कर्णाली प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन भने एक हजार एक सय आठ अमेरिकी डलर रहने प्रारम्भिक अनुमान गरिएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ मा कर्णालीको प्रतिव्यक्ति आय एक हजार एक सय २१ अमेरिकी डलर रहने संशोधित अनुमान गरिएको थियो । राष्ट्रिय तथ्याङ्क कार्यालयले डलरको विनिमयदरमा आएको वृद्धिका कारण प्रतिव्यक्ति आयमा प्रभाव परेको जनाएको छ । उत्पादन, लगानी र सरकारी खर्च अपेक्षाअनुसार विस्तार हुन नसक्दा कर्णालीको आर्थिक वृद्धिदरमा दबाब परेको विश्लेषण गरिएको छ । विशेषज्ञहरूले कर्णालीमा उत्पादनमुखी उद्योग, कृषि आधुनिकीकरण, पर्यटन प्रवर्द्धन तथा पूर्वाधार विकासलाई प्राथमिकता दिन सके आर्थिक गतिविधि विस्तार भई प्रदेशको अर्थतन्त्र थप सुदृढ बन्न सक्ने बताएका छन् ।









