सुर्खेत । युवाहरूको नेतृत्व तथा व्यक्तित्व विकासमा सक्रिय संस्था सुर्खेत महिला जेसीजले सप्ताहव्यापी “जेसीज सप्ताह–२०२६” वीरेन्द्रनगर सुर्खेतमा आयोजना गर्ने भएको छ । संस्थाले सामाजिक, शैक्षिक तथा नेतृत्व विकाससम्बन्धी विविध कार्यक्रम सञ्चालन गर्दै सप्ताहव्यापी कार्यक्रमलाई भव्य रूपमा सम्पन्न गर्ने तयारी गरेको जनाएको छ । सुर्खेत महिला जेसीजकी अध्यक्ष मनु सुनारका अनुसार कार्यक्रममा वक्तृत्वकला प्रतियोगिता, रक्तदान, नेतृत्व विकास तालिम, स्वास्थ्य शिविर तथा नारी सम्मानलगायत गतिविधि समावेश गरिनेछन् ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्व, युवायुवती, विद्यार्थी तथा स्थानीयको सहभागिता रहने अपेक्षा गरिएको छ । जेसीज सप्ताहको उद्घाटन २०८३ जेठ १५ गते वीरेन्द्रनगरस्थित शुभ होटलमा बिहान ११ बजे गरिनेछ । कार्यक्रमको संयोजन जेसी लक्ष्मी बीसी र जेसी झरना विष्टले गर्नेछन् । जेठ १६ गते बिहान ६ बजे मंगलगढी चोकमा रक्तदान कार्यक्रम आयोजना गरिनेछ । उक्त कार्यक्रमको संयोजन जेसी रितु वयलकोटीले गर्ने जनाइएको छ । जेठ १७ गते शुभ होटलमा नेतृत्व विकास तालिम सञ्चालन गरिनेछ । यसको संयोजन जेसी बसन्ता काकीले गर्ने संस्थाले जनाएको छ ।
जेठ २२ गते वडा नम्बर ६ कार्यालय परिसरमा स्वास्थ्य शिविर सञ्चालन गरिनेछ । दिउँसो १ बजे सुरु हुने उक्त शिविरको संयोजन जेसी बालकुमारी सुनारले गर्ने बताइएको छ । सप्ताहको समापन जेठ २३ गते शुभ होटलमा नारी सम्मान तथा पुरस्कार वितरण कार्यक्रममार्फत गरिनेछ । कार्यक्रमको संयोजन जेसी सुमित्रा चौधरी र जेसी सुस्मिता रिजालले गर्नेछन् ।
सुर्खेत महिला जेसीजकी अध्यक्ष निशी हाङ सुनारले कार्यक्रमले युवाहरूको नेतृत्व विकास, सामाजिक उत्तरदायित्व र महिला सशक्तीकरणमा योगदान पुर्याउने बताउनुभयो । महासचिव जेसी भावना रानाले सबैलाई सहभागिताका लागि आग्रह गर्नुभएको छ भने मूल संयोजक जेसी भिमा शाहीले जेसीज सप्ताहले सकारात्मक सामाजिक परिवर्तनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।








