२०८३ जेठ १५ , शुक्रबार

सुर्खेतमा पहिलोपटक महिला राष्ट्रिय क्रिकेट हुँदै



सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आगामी जेठ २२ गतेदेखि पहिलोपटक राष्ट्रिय स्तरको महिला क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

 

सन् २०२७ मा नेपाल र बंगलादेशले संयुक्त रूपमा आयोजना गर्न लागेको आईसीसी यू–१९ महिला विश्वकपका लागि नेपाली टोलीको छनोट खेलका रूपमा यो प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

कर्णाली प्रदेश क्रिकेट संघका सचिव श्रीधर केसीका अनुसार आगामी जेठ २२ गतेदेखि असार १ गतेसम्म सञ्चालन हुने यस यू–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा देशका ७ वटै प्रदेशका टोलीहरूले सहभागिता जनाउने छन् ।
कर्णालीको टोली बन्द प्रशिक्षण (Close Camp) मा
प्रतियोगिता नजिकिएसँगै घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यका साथ कर्णाली प्रदेशको छनोट भइसकेको टोली सुर्खेतमा बन्द प्रशिक्षण (Close Camp) मा व्यस्त रहेको छ । खेलाडीहरूलाई प्राविधिक तथा शारीरिक रूपमा सबल बनाउन विशेष प्रशिक्षण दिइराखिएको संघले जनाएको छ ।

कर्णालीमा दोस्रो राष्ट्रिय खेल, महिला क्रिकेटको भने पहिलो इतिहास भौतिक पूर्वाधार र खेलकुद गतिविधिमा क्रमशः अघि बढिरहेको कर्णाली प्रदेशका लागि यो प्रतियोगिता ऐतिहासिक कोसेढुङ्गा सावित हुने देखिएको छ ।

कर्णालीले गत वर्ष पहिलोपटक पुरुषतर्फको राष्ट्रिय क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको थियो । “कर्णालीको इतिहासमा यो दोस्रो राष्ट्रिय प्रतियोगिता हो, तर महिला क्रिकेटको इतिहासमा भने यो नै पहिलो राष्ट्रिय खेल हो” संघका सचिव श्रीधर केसीले बताए ।

आगामी महिला विश्वकप खेल्ने नेपाली टोलीको जग बसाल्ने यस महत्वपूर्ण छनोट प्रतियोगिताको सम्पूर्ण व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : २०८३ जेठ १५ गते शुक्रबार