सल्यान । लोपोन्मुख अवस्थामा पुगेको मौलिक नौमती बाजाको संरक्षण तथा प्रवर्द्धनका लागि सल्यानको छत्रेश्वरी गाउँपालिका–६ मा महिलाहरू सक्रिय भएका छन् । १० दिने आधारभूत तालिम पूरा गरेका स्थानीय महिलाहरूले पहिलोपटक सामूहिक रूपमा नौमती बाजा बजाएर आफ्नो सीप प्रदर्शन गरेका छन् । साथै, यसको दीर्घकालीन संरक्षण र निरन्तरताका लागि महिला बाजा समूह पनि गठन गरिएको छ वडा नं. छ कार्यालयको आयोजनामा जेठ १६ गतेदेखि सञ्चालन भएको तालिम सोमबार सम्पन्न भएको हो । समापन समारोहमा सहभागी महिलाहरूले लान्तीमा आयोजित कार्यक्रममा झ्याउरे र ख्याली भाकामा आधारित सांस्कृतिक प्रस्तुति दिँदै तालिमबाट हासिल गरेको सीप प्रदर्शन गरेका थिए ।
परम्परागत रूपमा पुरुषहरूको क्षेत्रमा सीमित मानिएको नौमती बाजाको प्रयोग पछिल्ला वर्षहरूमा घट्दै जाँदा यसको संरक्षण चुनौतीपूर्ण बन्दै गएको छ । यही अवस्थालाई ध्यानमा राख्दै महिलालाई नौमती बाजा सम्बन्धी सीप हस्तान्तरण गरी मौलिक सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको वडा नं. छ का वडाध्यक्ष टिकाराम बुढाले जानकारी दिए । तालिममा वडाभित्रका १० जना महिलाको सहभागिता रहेको थियो। उनीहरूलाई सिन्धुली कला घरका प्रशिक्षक पवित्रा रम्तेल र रिता विश्वकर्माले प्रशिक्षण दिनुभएको थियो ।
प्रशिक्षक रम्तेलका अनुसार छोटो अवधिमै सहभागीहरूले बाजा बजाउने आधारभूत सीप तथा सामूहिक तालमेलमा उल्लेखनीय प्रगति गरेका छन् । समापन समारोहका प्रमुख अतिथि तथा छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष ओजबहादुर बुढाथोकीले महिलाहरूको सक्रिय सहभागिताले मौलिक संस्कृति संरक्षण अभियानलाई नयाँ ऊर्जा दिएको बताए । उनले महिला बाजा समूहलाई आवश्यक सहयोग प्रदान गर्दै अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले नौमती बाजालाई सांस्कृतिक सम्पदाका साथै आयआर्जनको माध्यमका रूपमा समेत विकास गर्नुपर्ने धारणा राखे ।
तालिम समापनसँगै सुनिता बुढाथोकी गिरीको अध्यक्षतामा ‘छत्रेश्वरी नौमती बाजा महिला समूह’ गठन गरिएको छ । समूहको उपाध्यक्षमा कालिका योगी, सचिवमा सुशमा चन्द ठकुरी, सहसचिवमा नविना विष्ट तथा कोषाध्यक्षमा सम्झना भण्डारी चयन भएका छन् । अन्य तालिमप्राप्त महिलाहरू सदस्यका रूपमा आबद्ध भएका छन् ।वडा सचिव संगिता डिसीका अनुसार नियमित अभ्यास, सांस्कृतिक कार्यक्रमहरूमा व्यावसायिक सहभागिता तथा महिलाको आर्थिक सशक्तीकरणलाई टेवा पुर्याउने उद्देश्यले समूह गठन गरिएको हो । लान्तीमा आयोजित समापन कार्यक्रममा त्रिजमावि भोटेचौरका विद्यार्थीहरूको समेत सहभागिता रहेको थियो ।
विद्यालयका सहायक प्रधानाध्यापक नेत्रलाल भट्टराईका अनुसार पाठ्यक्रममा समावेश मौलिक बाजासम्बन्धी विषयलाई व्यवहारिक रूपमा बुझाउन विद्यार्थीलाई कार्यक्रममा सहभागी गराइएको हो । आधुनिक प्रविधि र नयाँ सांगीतिक उपकरणहरूको प्रभावका कारण ओझेलमा पर्दै गएको नौमती बाजाको संरक्षणमा महिलाहरूको सक्रिय सहभागिताले नयाँ आशा जगाएको स्थानीयवासीको विश्वास छ । छत्रेश्वरीमा सुरु भएको यो अभियानले मौलिक कला संरक्षणसँगै महिलाको नेतृत्व विकास र आत्मनिर्भरतामा समेत महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।









