२०८३ कात्तिक ९ , सोमबार
कर्णालीको सुदूर पीडा मेट्दै मदन भण्डारी राजमार्ग

सडक र पुलको निर्माणले फेरिँदै पश्चिम सुर्खेतको मुहार



सुर्खेत । असार–साउनको घनघोर वर्षा । उर्लिएको ब्यूरेनी र अन्य साना खोलाको धमिलो भेल । बिरामी, सुत्केरी व्यथाले छटपटाएकी महिला र समयमै गन्तव्य पुग्न नपाउनुको विवशता । वर्षायाममा पश्चिम सुर्खेतका खोला किनारमा देखिने यो कारुणिक दृश्य कुनै काल्पनिक चलचित्रको कथा थिएन, बराहताल, चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिकाका नागरिकले पुस्तौँदेखि भोग्दै आएको तीतो यथार्थ थियो । गाडी चढ्न पाइने आशमा बिहानै घरबाट हिँडेका यात्रुहरू खोलामा आएको बाढी र हिलाम्मे सडकका कारण दिनभर भोकभोकै किनारमै अलपत्र पर्थे ।

हिउँदमा शरीरभरि खैरो धुलोको बाक्लो पत्र जम्ने गरी उड्ने धुलो र बर्खामा गाडीको पाङ्ग्रा पूरै भासिने दलदले हिलो पश्चिम सुर्खेतवासीको स्थायी नियति बनेको थियो । बिरामीलाई समयमै प्रदेश राजधानी वीरेन्द्रनगर अस्पताल पु¥याउन नसक्दा बाटोमै ज्यान गुमाउनुपरेका पीडाहरु नागरिकको मनमा ताजै छन् । स्थानीय किसानले पसिना बगाएर फलाएका अदुवा, सुन्तला, तरकारी र दुग्धजन्य वस्तुहरू बजारको मुख देख्न नपाएर बाटोमै सड्ने गर्थे । झण्डै ६० किलोमिटरको यात्रा गर्न पूरै दिनभर हण्डर खानुपर्ने र जोखिम मोलेर यात्राको सास्तीले यहाँका बासिन्दालाई सधैँ राज्यबाट उपेक्षित थिए । तर, समय सधैँ एउटै रहँदैन । पीडा, अभाव र निराशाको लामो सुरुङबाट अब पश्चिम सुर्खेत बाहिर निस्कँदै छ । हिजो आँसु र सास्ती बनेर बग्ने खोलाहरूमाथि अब पक्की पुलहरू ठडिँदै छन् भने धुलाम्मे कच्ची गोरेटाहरू चौडा, चिल्ला र दिगो अस्फाल्ट सडकमा परिणत भइरहेका छन् ।

राष्ट्रिय गौरवको मदन भण्डारी राजमार्ग अन्तर्गत पश्चिम सुर्खेत खण्डमा सडक स्तरोन्नति र पक्की पुल निर्माणले एकसाथ गति पाएसँगै यहाँका नागरिकको मुहारमा वर्षौंपछि आशा र उत्साहको छाएको छ । पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको कुल दूरी ९४ किलोमिटर रहेको छ । यो दूरीमध्ये बड्डीचौर–खम्बगाडे सडक खण्डलाई छाडेर हाल चौर खोलादेखि लगाम खण्डमा मदन भण्डारी राजमार्ग योजना कार्यालयले दुई चरणमा काम अगाडि बढाइरहेको छ । पहिलो प्याकेज अन्तर्गत विद्यापुर–गुटु–बल्दे खण्डको करिब २२ किलोमिटर सडक पर्दछ । १७ फागुन २०७९ देखि सुरु भएको यो आयोजना बानियाँ मोतिदान डी.एस. जेभी, काठमाडौंले निर्माणको जिम्मा पाएको हो । कुल एक अर्ब २१ करोड रुपैयाँ लागतको यस आयोजना अन्तर्गत विजौरा क्षेत्रको विवादित खण्डबाहेक अन्य सडक अहिले कालोपत्रे सम्पन्न हुने चरणमा पुगेको छ ।

निर्माणका क्रममा विजौरा क्षेत्रमा करिब १६ सय मिटर सडक खण्डमा देखिएको विवादका कारण केही काम रोकिए पनि बाँकी खण्डको काम आउने मंसिरसम्म सक्ने लक्ष्य राखिएको योजना कार्यालयका प्रमुख ईन्जिनियर शंकर पौडेल बताउँछन् । उनका अनुसार अहिले गुटु बजार क्षेत्रको झण्डै २ किलोमिटर सडक कालोपत्रे गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । सुर्खेत पश्चिममा निर्माण भइरहेको यो सडक सामान्य नभई महँगो अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिएको छ । अस्फाल्टबाट कालोपत्रे गरिँदा सडक निकै बलियो, दिगो र धेरै भारवहन क्षमताको हुने गर्दछ । यता, लगाम–धनराश–धामीसैन सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ । बाँकी १६ किलोमिटर सडक निर्माण गर्न ठेक्का आह्वान गरिएको हो । यो खण्ड निर्माणका लागि झण्डै डेढ अर्ब रकम विनियोजन भएको योजना कार्यालयले जनाएको छ ।

पाँच खोलामा पुल निर्माण थालिदै

मदन भण्डारी राजमार्गको सुर्खेत पश्चिमको दोस्रो प्याकेज अन्तर्गत चौर खोला–पलैटे–चत्तुरे चोक–दुलालथाई–विद्यापुर १० किलोमिटर र बल्दे–लगाम १५ किलोमिटर गरी २५ किलोमिटर सडक निर्माण भइरहेको छ । १४ भदौ २०८४ मा सक्ने लक्ष्य लिएको यो सडक निर्माणका लागि दिवा यती जेभीले १४ भदौ २०८१ मा सम्झौता गरेको हो । कुल १ अर्ब ३६ करोड रुपैयाँ लागत रहेको यस सडकको बल्दे–लगाम खण्डमा हाल पहाड कटिङको लगभग सकिएको छ । सिमलखेतमा साविक पुरानै सडकबाट लैजाने वा बस्तीबाट लैजाने भन्ने विषयमा प्राविधिक छलफल भइरहेको र यही महिनाभित्रै कहाँबाट सडक लैजाने भन्ने अन्तिम निर्णय हुने योजना प्रमुख पौडेलले जानकारी दिए ।

बाँकी चौर खोलादेखि विद्यापुर डाँडासम्मको १० किलोमिटर सडक भने निर्माण व्यवसायीले यसै आर्थिक वर्षमा कालोपत्रे गर्ने तयारी थालेका छन् । सडक निर्माणसँगै यस क्षेत्रको सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेका खहरे खोलाहरूमा पक्की पुल निर्माणको कामले पनि गति लिएको छ । राजमार्गको सुर्खेत पूर्वको भेडाबारीदेखि कर्णाली नदीसम्म कुल २३ वटा पक्की पुल निर्माण गर्नुपर्ने गुरुयोजना छ । यीमध्ये १३ वटा पुल सुर्खेत पूर्व र १० वटा पुल सुर्खेत पश्चिम खण्डमा पर्दछन् । हालसम्म १६ वटा पक्की पुल निर्माण सम्पन्न भएर सवारीसाधन निर्वाध सञ्चालन भइसकेका छन् । सुर्खेत पूर्वी खण्डमा पर्ने १३ वटै पक्की पुल ४० करोड ४५ लाख रुपैयाँ लागतमा निर्माण गरिएका हुन् । जसमा भुगुती, काली, खत्री, गुर्जी, बेतनी, खहरे, राते, बेवारे, कागते, थोत्री, गंगटे र रानीमत्ते खोलामा नयाँ पुल निर्माण गरिएको छ ।

पश्चिम सुर्खेत खण्डमा पनि यसअघि नै तीन वटा खोलामा पुल निर्माण सम्पन्न भइसकेको छ । विद्यापुर खोलाको पुल तीन करोड ४६ लाख, गुटु खोलाको पुल पाँच करोड र ब्यूरेनी खोलाको पुल तीन करोड ६० लाख रुपैयाँ लागतमा निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेका छन् । कार्यालयले चालु आर्थिक वर्षदेखि पञ्चपुरी नगरपालिकाको स्याउलीघाट, चत्तुरे, बराइचे, सलामडुबे खोला तथा चौकुने गाउँपालिकाको सिमलखेत र लेमु खोलामा पुल बनाउनुपर्ने स्थानीयको लामो समयदेखिको माग अब पूरा देखिएको छ । कुल ३८ करोड १२ लाख १० हजार ४९९ रुपैयाँ लागतमा निर्माण हुने यी पाँच वटा पुलको ठेक्का सम्झौता अन्तिम चरणमा पुगेको हो ।

चत्तुरे खोलामा २५ मिटर लामो पक्की पुल निर्माणका लागि मेसर्स डी. लालीगुराँस कालीकोट जेभी ६ करोड ३५ लाख १० हजार ९५८ रुपैयाँमा छनोट भएको छ । यस्तै, लेमु खोलामा ५० मिटर लामो पुल निर्माणका लागि मेसर्स सिद्धि विनायक कन्स्ट्रक्सन, मकवानपुरसँग ८ करोड ६२ लाख ४१ हजार ७२६ रुपैयाँमा सम्झौता प्रक्रिया अघि बढेको छ । यस्तै, बराइचे खोलामा २० मिटर लामो पुल बनाउन मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा, कैलाली ७ करोड ३७ लाख १२ हजार ७३६ रुपैयाँ र स्याउलीघाट खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स हिमशृङ्खला/अल्फा/काञ्जीरोवा जेभी, नेपालगञ्ज बाँकेले ७ करोड २६ लाख ८१ हजार ५६० रुपैयाँमा जिम्मा पाएको छ ।

सलामदुबे खोलामा २५ मिटर लामो पुल निर्माणका लागि मेसर्स इन्द्रधनु अछाम निर्माण सेवा, कैलाली ८ करोड ५० लाख ६३ हजार ५१७ रुपैयाँमा छनोट भएको छ । यसबाहेक चौकुने गाउँपालिकाको सिमलखेत खोला तथा सुदूरपश्चिमको डोटी र कर्णालीको सुर्खेत जोड्ने चौकुने गाउँपालिका–१ पाल्पाघाटस्थित कर्णाली नदीमा पक्की पुल निर्माणका लागि निर्णय हुन बाँकी छ । सडक विस्तार र कालोपत्रेसँगै मुख्य खोलाहरूमा पक्की पुल बनेपछि पश्चिम सुर्खेतको चौकुने गाउँपालिका र पञ्चपुरी नगरपालिका लगायतका बासिन्दालाई प्रदेश राजधानी वीरेन्द्रनगर तथा कर्णाली प्रदेशका अन्य जिल्लाहरूसँग बाह्रै महिना सुरक्षित र सहज यातायात सम्पर्क कायम हुनेछ । अब वर्षायाम सुरु हुनासाथ यातायात बन्द हुने त्रासमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । सडक र पुलको यो पूर्वाधारले स्थानीय कृषि उपज, फलफूल तथा पशुजन्य उत्पादनलाई सहजै बजारसम्म पु¥याउन मद्दत गर्नेछ, जसले ग्रामीण अर्थतन्त्रमा परिवर्तन आउने विश्वास स्थानीयवासीले लिएका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार