२०८३ कात्तिक ९ , सोमबार
सम्पादकीय

बजार अनुगमन र आपूर्ति व्यवस्थापनमा ध्यान देऊ



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा तरकारी तथा फलफूलको थोक मूल्यमा भएको उल्लेख्य वृद्धिले आम उपभोक्ताको भान्सा महँगिँदै गएको संकेत गरेको छ । बुलबुले कृषि हाट बजार व्यवस्थापन समितिको तथ्यांकअनुसार गत वर्ष असोजमा प्रतिकिलो औसत ८७ रुपैयाँ ४६ पैसा रहेको तरकारी तथा फलफूलको थोक मूल्य यस वर्ष बढेर ११९ रुपैयाँ ९१ पैसा पुगेको छ । एक वर्षमै औसत मूल्य ३७ दशमलव १० प्रतिशतले बढ्नु सामान्य बजार उतारचढाव मात्र होइन, उपभोक्ताको दैनिक जीवनसँग जोडिएको गम्भीर विषय हो ।

प्याजको मूल्य प्रतिकिलो ४७ रुपैयाँ ५० पैसाबाट बढेर ९२ रुपैयाँ र लसुनको मूल्य १४५ रुपैयाँबाट २९४ रुपैयाँ पुग्नुले मूल्यवृद्धिको असर स्पष्ट पार्छ । साग, सिमी, लौका, बन्दा र गोलभेँडाजस्ता दैनिक उपभोगका तरकारीसमेत महँगिएका छन् । यद्यपि आलु र अदुवाको मूल्य घट्नुले सबै वस्तुको मूल्य एउटै गतिमा नबढेको देखाउँछ । यसले बजार मूल्य उत्पादन, मौसम र आपूर्तिको अवस्थासँग प्रत्यक्ष जोडिएको पुष्टि गर्छ । स्थानीय उत्पादन पर्याप्त हुँदा मूल्य घट्ने र उत्पादन कम हुँदा बाह्य क्षेत्रबाट आयात गर्नुपर्दा मूल्य बढ्ने बजार व्यवस्थापकको भनाइलाई बेवास्ता गर्न मिल्दैन । कर्णालीको

भौगोलिक विकटता, ढुवानी खर्च, लोडअनलोडमा जनशक्तिको अभाव तथा बाह्य आपूर्तिमा निर्भरताले मूल्यवृद्धिलाई थप बल पु¥याएका छन् । तर, यी समस्यालाई मूल्य बढ्नुको स्थायी बहाना बनाएर उपभोक्तालाई सधैँ महँगोमा सामान किन्न बाध्य पारिनु हुँदैन । यसका लागि स्थानीय उत्पादन बढाउने, किसानलाई बीउ, मल, प्रविधि र बजारको सुनिश्चितता दिने तथा कृषि उपजको भण्डारण र ढुवानी प्रणाली सुधार गर्ने नीति आवश्यक छ। साथै, बजारमा नियमित अनुगमन गरी खरिद मूल्य र बिक्री मूल्यबीचको अन्तर पारदर्शी बनाउनुपर्छ। कृत्रिम अभाव, अस्वाभाविक मूल्यवृद्धि र बिचौलियाको अनुचित लाभ नियन्त्रण गर्न सम्बन्धित निकाय जिम्मेवार बन्नुपर्छ खाद्यवस्तुको मूल्यवृद्धि केवल आर्थिक विषय होइन, यो नागरिकको जीवनस्तर र खाद्य सुरक्षासँग जोडिएको सवाल हो । त्यसैले स्थानीय उत्पादनदेखि बजार वितरणसम्मको प्रणाली सुधार्दै उपभोक्ताले उचित मूल्यमा गुणस्तरीय वस्तु पाउने वातावरण निर्माण गर्नु आजको आवश्यकता हो ।

प्रकाशित मिति : २०८३ कात्तिक ९ गते सोमबार