२०८३ जेठ ३१ , आइतबार

रास्वपाको प्रथम कर्णाली अधिवेशन आजदेखि, नेतृत्वका लागि पाँच जना आकांक्षी मैदानमा



सुर्खेत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कर्णाली प्रदेशको प्रथम प्रदेश अधिवेशन आजदेखि वीरेन्द्रनगरस्थित शुभ होटलमा सुरु हुँदैछ। पार्टीको प्रदेश नेतृत्व चयनका लागि आयोजना गरिएको अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको रास्वपा कर्णाली प्रदेश समितिले जनाएको छ।

पार्टीका प्रदेश सभापति मदन खड्काका अनुसार अधिवेशनलाई ऐतिहासिक र व्यवस्थित बनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ। अधिवेशनमा कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधिहरू सहभागी हुनेछन्।

अधिवेशनको मुख्य आकर्षण प्रदेश सभापतिको चयन बनेको छ। सभापति पदका लागि वर्तमान प्रदेश सभापति मदन खड्का, प्रदेश कोषाध्यक्ष स्नेहा उपाध्याय, प्रेमबहादुर बोहोरा, नन्दकिशोर बस्नेत (एनके) र मानबहादुर शाही आकांक्षीका रूपमा देखिएका छन्। नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहे पनि आवश्यक परे निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिने बताइएको छ।

सभापति पदका दाबेदारमध्ये नन्दकिशोर बस्नेत, मानबहादुर शाही र प्रेमबहादुर बोहोरालाई बलिया प्रतिस्पर्धीका रूपमा हेरिएको छ। विभिन्न राजनीतिक पृष्ठभूमिबाट रास्वपामा आबद्ध भएका उनीहरूले संगठन विस्तार र प्रदेशमा पार्टीको प्रभाव बढाउने एजेन्डा अघि सारेका छन्।

महिला नेतृत्वको प्रतिनिधित्व गर्दै स्नेहा उपाध्यायले पनि सभापतिमा दाबी प्रस्तुत गरेकी छन्। उनले कर्णालीमा पार्टीलाई थप सशक्त बनाउन नयाँ नेतृत्व आवश्यक रहेको बताउँदै आफू त्यसका लागि सक्षम रहेको दाबी गरेकी छन्।

यता वर्तमान सभापति मदन खड्काले पनि पुनः नेतृत्व दोहोर्याउने इच्छा व्यक्त गरेका छन्। यद्यपि पार्टीभित्र संगठन विस्तार, निर्वाचन परिणाम र नेतृत्व शैलीलाई लिएर उनको कार्यकालबारे मिश्रित प्रतिक्रिया देखिएको छ।

रास्वपाको प्रथम प्रदेश अधिवेशनले नयाँ नेतृत्व चयनसँगै आगामी संगठनात्मक रणनीति तय गर्ने अपेक्षा गरिएको छ। कर्णालीमा पार्टीको संगठन विस्तार, स्थानीय तहसम्म संरचना निर्माण तथा आगामी निर्वाचनलाई लक्षित गर्दै अधिवेशनले महत्वपूर्ण निर्णय गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार