२०८३ कात्तिक ११ , बुधबार

सेयर बजार ३३ अंकले बढ्यो, कारोबार रकम साढे ७ अर्ब नाघ्यो



काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३३.२९ अंकले बढेर २ हजार ६६४ अंकमा पुगेको छ । यो परिसूचक साउन ३० यताकै उच्च हो ।

बुधबार २४१ कम्पनीको सेयर मूल्य बढेको छ भने ३५ कम्पनीको घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । बजारमा कारोबार रकमसमेत बढेको छ । मंगलबार ५ अर्ब ८० करोड रुपैयाँको कारोबार भएकोमा बुधबार ७ अर्ब ४५ करोड रुपैयाँको सेयर किनबेच भएको छ । यो कारोबार रकम भदौ ३० यताकै उच्च हो । जलविद्युत् समूहमा लगानीकर्ताको आकर्षण देखिएको छ । उक्त समूहको परिसूचक सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । व्यापार समूहबाहेक सबै समूहगत परिसूचकमा वृद्धि भएको छ ।

बैंकिङ समूह १.३६ प्रतिशत, विकास बैंक १.११ प्रतिशत, वित्त १.५५ प्रतिशत, होटल तथा पर्यटन १.३४ प्रतिशत, लगानी १.५२ प्रतिशत र जीवन बीमा समूह १.५९ प्रतिशतले बढेका छन् । त्यस्तै, उत्पादन तथा प्रशोधन समूह ०.६६ प्रतिशत, लघुवित्त ०.८७ प्रतिशत, निर्जीवन बीमा ०.४४ प्रतिशत र अन्य समूह ०.८५ प्रतिशतले बढेका छन् । व्यापार समूह भने ०.४४ प्रतिशतले घटेको छ ।

बुधबार हालै सूचीकृत बेनी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशतले बढेको छ । बुटवल पावर कम्पनीको मूल्य १०.६० प्रतिशतले बढेको छ । त्यस्तै, सुपर खुदी हाइड्रोपावरको ६.२६ प्रतिशत, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.२२ प्रतिशत, युनियन हाइड्रोपावरको ५.८६ प्रतिशत, सान्जेनको ५.८१ प्रतिशत, स्वस्तिक लघुवित्तको ५.६७ प्रतिशत र होटल फरेस्ट इनको सेयर मूल्य ५.४१ प्रतिशतले बढेको छ । यस दिन सिर्जनशील लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै २.३० प्रतिशतले घटेको छ । चिरख्वा हाइड्रोपावरको २.१२ प्रतिशत र माथिल्लो मैलुङखोलाको १.९१ प्रतिशतले मूल्य घटेको छ ।

बुधबार कारोबार रकमका आधारमा लिबर्टी इनर्जी अग्रस्थानमा रहेको छ । त्यसपछि घलेम्दी हाइड्रोपावर, बुटवल पावर कम्पनी, अपि पावर, सोलु हाइड्रोपावर, ग्रिन भेन्चर्स, पिपुल्स हाइड्रोपावर, सानिमा बैंक, सानिमा मिडिल तमोर र कुमारी बैंक क्रमशः अगाडि रहेका छन् ।

प्रकाशित मिति : २०८३ कात्तिक ११ गते बुधबार