मुगु । मुगुको मुगुमकार्मारोङ गाउँपालिकाले चालु आर्थिक वर्षमा यार्चागुम्बा सङ्कलनबाट २८ लाख ३० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । गाउँपालिकाले यार्चागुम्बा सङ्कलनका लागि पाटन क्षेत्रमा जाने जिल्लाभित्रका व्यक्तिबाट प्रतिव्यक्ति दुई हजार रुपैयाँ र जिल्लाबाहिरबाट आउने व्यक्तिबाट दुई हजार पाँच सय रुपैयाँ शुल्क लिँदै आएको छ । गाउँपालिकाका सूचना अधिकारी सोबेन्द्र मल्लका अनुसार राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन गाउँपालिकाको टोली पाटन क्षेत्रमा नै पुगेर सङ्कलकबाट शुल्क असुल गरिरहेको छ ।
उनले यस वर्ष यार्चागुम्बा सङ्कलनका लागि आउने व्यक्तिको सङ्ख्या अघिल्ला वर्षको तुलनामा घटेकाले राजस्व पनि कम उठेको बताए । विगतमा पाँचदेखि छ हजारसम्म सङ्कलक पाटन क्षेत्रमा पुग्ने गरे पनि यस वर्ष सङ्ख्या घटेको उहाँको भनाइ छ । गाउँपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले यार्चागुम्बाबाट प्राप्त राजस्व सामाजिक तथा भौतिक पूर्वाधार विकास, विद्यालय सहयोग, यार्चागुम्बा संरक्षण, सुरक्षा र व्यवस्थापनका क्षेत्रमा खर्च गरिने जानकारी दिए ।
यार्चागुम्बा हिमाली भेगका बासिन्दाको प्रमुख आम्दानीको स्रोत मानिन्छ। प्रत्येक वर्ष स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्दै उच्च हिमाली पाटनमा पुगेर यसको सङ्कलन गर्छन् । स्थानीय पेमाछिरिङ लामाका अनुसार सङ्कलकहरू जेठको दोस्रो सातादेखि करिब एक महिनासम्म पाटन क्षेत्रमा अस्थायी शिविर बनाएर बस्ने गर्छन् ।
स्थानीयवासीका अनुसार पछिल्ला केही वर्षयता यार्चागुम्बाको उत्पादन निरन्तर घट्दै गएको छ । मुगुमकार्मारोङ गाउँपालिका दुईका स्थानीय ठिल्याकुन्जुक लामाले जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण हिमाली क्षेत्रको चिसोपन घट्दै जाँदा यार्चागुम्बाको वृद्धि प्रभावित भएको बताए । उनका अनुसार पछिल्लो पाँच वर्षको तथ्याङ्कले पनि उत्पादन र सङ्कलन दुवैमा गिरावट देखाएको छ, जसले हिमाली समुदायको मुख्य आयस्रोतमा प्रत्यक्ष असर पुर्याएको छ ।









