सल्यान । आर्थिक वर्ष सकिन करिब एक महिना मात्र बाँकी रहँदा सल्यानस्थित प्रदेश सरकारअन्तर्गतका कार्यालयहरूको पूँजीगत बजेट खर्च अपेक्षाकृत कमजोर देखिएको छ । प्रदेश लेखा इकाई कार्यालय सल्यानका अनुसार चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको विकास बजेटको हालसम्म ३१ प्रतिशत मात्र खर्च भएको छ । कार्यालयका तथ्याङ्कअनुसार पूँजीगततर्फ एक अर्ब ४३ करोड ९० लाख ४९ हजार रुपैयाँ बजेट विनियोजन गरिएकोमा हालसम्म ४४ करोड १३ लाख ८८ हजार पाँच सय ३४ रुपैयाँ मात्र खर्च भएको छ ।
विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित योजनामा खर्चको गति सुस्त रहँदा बजेट कार्यान्वयनमा चुनौती देखिएको छ । त्यसैगरी चालुतर्फ ९१ करोड १९ लाख ९६ हजार नाै सय ९० रुपैयाँ बजेटमध्ये ४७ करोड २१ लाख ३३ हजार ८६ रुपैयाँ खर्च भएको छ, जुन कुल विनियोजनको ५२ प्रतिशत हो। चालु र पूँजीगत दुवै शीर्षक गरी दुई अर्ब ३५ करोड १० लाख ४५ हजार नाै सय ९० रुपैयाँ बजेटमध्ये हालसम्म ९१ करोड ३५ लाख २१ हजार छ सय २१ रुपैयाँ मात्र खर्च भएको प्रदेश लेखा इकाई कार्यालयले जनाएको छ ।
प्रदेश लेखा इकाई कार्यालय सल्यानका लेखा नियन्त्रक दिनेशकुमार चौधरीका अनुसार केही कार्यालयहरूले पूँजीगत खर्चमा सन्तोषजनक प्रगति गरे पनि धेरै कार्यालयमा बजेट कार्यान्वयनको अवस्था कमजोर रहेको छ । उनले आर्थिक वर्षको अन्त्यतिर खर्च बढ्ने अपेक्षा गरिए पनि हालसम्मको अवस्था उत्साहजनक नरहेको बताए ।
सरोकारवालाका अनुसार समयमै ठेक्का प्रक्रिया सम्पन्न नहुनु, योजना कार्यान्वयनमा ढिलाइ हुनु तथा भुक्तानी व्यवस्थापनमा देखिएका समस्याका कारण विकास निर्माणका काम प्रभावित भएका छन् । आर्थिक वर्षको अन्तिम चरणमा पनि विकास बजेट खर्च न्यून रहनुले योजनाहरूको कार्यान्वयन प्रभावकारी बन्न नसकेको संकेत गरेको छ









