२०८३ जेठ ३१ , आइतबार

जुम्लाका ८ स्थानीय तहलाई २ अर्ब ४१ करोड अनुदान



जुम्ला ।  संघीय सरकारले जुम्लाका आठ स्थानीय तहलाई आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विभिन्न शीर्षकमा गरी कुल दुई अर्ब ४१ करोड १५ लाख रुपैयाँ अनुदान हस्तान्तरण गरेको छ । जिल्लामा एक नगरपालिका र सात गाउँपालिका रहेका छन् । संघीय सरकारले वित्तीय समानीकरण, ससर्त, विशेष र समपूरक अनुदानमार्फत उक्त रकम उपलब्ध गराएको हो । समानीकरण अनुदान न्यूनतम आवश्यकता, सूत्रमा आधारित तथा कार्यसम्पादन सूचकका आधारमा वितरण हुने व्यवस्था रहेको छ भने ससर्त र विशेष अनुदान चालु तथा पुँजीगत योजनाका लागि प्रयोग गरिन्छ ।

यस वर्ष जुम्लाको चन्दननाथ नगरपालिकाले सबैभन्दा बढी ४० करोड ८३ लाख रुपैयाँ अनुदान प्राप्त गरेको छ । त्यस्तै कनकासुन्दरी गाउँपालिकाले २९ करोड ४० लाख, गुठिचौरले २३ करोड ५७ लाख, तातोपानीले ३३ करोड १६ लाख, तिला गाउँपालिकाले ३१ करोड ८९ लाख, पातारासीले २६ करोड ९० लाख, सिंजाले २८ करोड ७६ लाख र हिमा गाउँपालिकाले २८ करोड ८ लाख रुपैयाँ अनुदान पाएका छन् ।

तातोपानी गाउँपालिका चारै शीर्षकबाट अनुदान प्राप्त गर्नेमध्ये एक हो । गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईंका अनुसार आन्तरिक आय कमजोर रहेकाले संघ र प्रदेशबाट प्राप्त बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न ठोस योजना आवश्यक छ । चालु आर्थिक वर्षमा जुम्लाका स्थानीय तहले दुई अर्ब ४१ करोड छ लाख रुपैयाँ अनुदान पाएका थिए। यस वर्ष उक्त रकममा ९ लाख रुपैयाँ वृद्धि भई दुई अर्ब ४१ करोड १५ लाख रुपैयाँ पुगेको हो ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार