२०८३ जेठ ३१ , आइतबार

कर्णाली प्रदेशसभा सदस्यलाई एआई प्रयोग सम्बन्धी तालिम



सुर्खेत । कर्णाली प्रदेशसभाका सदस्यहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिको प्रयोगसम्बन्धी व्यावहारिक तालिम लिएका छन् । यसअघि एआईबारे सामान्य जानकारी भए पनि व्यवहारिक प्रयोग गर्न नसकेका सांसदहरू अब विभिन्न एआई टुल प्रयोग गर्न सक्षम बनेका छन् । प्रदेश तथा स्थानीय शासन सुदृढीकरण कार्यक्रम अन्तर्गत प्रदेश कार्यक्रम सहयोग एकाइ सुर्खेतले प्रदेशसभा सदस्यहरूका लागि ‘संसदीय अभ्यासमा एआईको प्रयोग’ विषयक क्षमता विकास कार्यक्रम आयोजना गरेको हो ।

तालिममा एआई विज्ञ प्रवेश सुवेदीले विभिन्न एआई उपकरण, तिनको प्रयोग, प्रभाव तथा दैनिक जीवन र संसदीय कार्यमा उपयोगिताबारे प्रशिक्षण दिएका तालिमपछि प्रदेशसभा सदस्यहरूले भाषण तयार गर्ने, अनुसन्धानका लागि आवश्यक सामग्री खोज्ने, तथ्य र सूचनाको विश्लेषण गर्ने तथा विभिन्न विषयलाई चित्र, चार्ट, अडियो र भिडियोमार्फत थप प्रभावकारी रूपमा प्रस्तुत गर्ने सीप हासिल गरेका छन् । एआईको प्रयोगले कानुन निर्माण, नीति विश्लेषण र जनप्रतिनिधिको दैनिक कार्यसम्पादनमा सहजता ल्याउने अपेक्षा गरिएको छ ।

कर्णाली प्रदेशसभा सचिवालयको समन्वय तथा संसद सहयोग परियोजनाको सहकार्यमा वीरेन्द्रनगरमा आयोजित कार्यक्रमको समापन गर्दै मुख्यमन्त्री यामलाल कँडेलले प्रविधिको युगमा जनप्रतिनिधिहरू पनि प्रविधिमैत्री बन्न आवश्यक रहेको बताए । उनले प्रदेशसभा सदस्यहरूको क्षमता अभिवृद्धि र कार्यसम्पादनलाई प्रभावकारी बनाउन तालिम आयोजना गरिएको स्पष्ट पारे । पूर्वमुख्यमन्त्री तथा प्रदेशसभा सदस्य राजकुमार शर्माले एआईसम्बन्धी तालिम समयानुकूल र उपलब्धिमूलक भएको बताए ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक हिक्मत विष्टले पनि तालिमले सांसदहरूलाई कानुन निर्माण तथा अन्य जिम्मेवारी निर्वाहमा महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे । प्रदेशसभा सदस्यहरू महेन्द्र केसी, जीतबहादुर मल्ल र उर्मिला विश्वकर्माले तालिमबाट सिकेका ज्ञानलाई व्यवहारमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, प्रमुख सचिव वीरेन्द्रकुमार यादव, प्रदेशसभा सचिव डा. अर्जुन खड्कालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८३ जेठ ३१ गते आइतबार