२०८३ असार १ , सोमबार

सल्यानमा बेमौसमी तरकारी सिजन सुरु



सल्यान ।  नेपालकै प्रमुख बेमौसमी तरकारी उत्पादन क्षेत्रमध्ये एक मानिने कपुरकोटमा यस वर्षको तरकारी सिजन औपचारिक रूपमा सुरु भएको छ । गत शुक्रबारदेखि सञ्चालनमा आएको कपुरकोट कृषि उपज बजार केन्द्रमा पहिलो दिनमै नौ लाखभन्दा बढीको कारोबार भएको छ । बजार केन्द्रका अनुसार पहिलो दिन २१ हजार  तिन सय पाँच किलो विभिन्न प्रकारका तरकारी बिक्री हुँदा नाै लाख २९ हजार सात सय १२ रुपैयाँ बराबरको कारोबार भएको हो । किसानले उत्पादन गरेका तरकारी बजारमा आउन थालेपछि हाटबजार सञ्चालनमा ल्याइएको कृषि उपज बजार सञ्चालन समितिका अध्यक्ष तिलक शर्माले जानकारी दिए ।

उनका अनुसार आगामी कार्तिक–मङ्सिरसम्म कपुरकोटबाट ठूलो परिमाणमा ताजा तरकारी देशका विभिन्न सहरमा आपूर्ति गरिनेछ । यहाँ प्रत्येक मङ्गलबार र शुक्रबार नियमित हाटबजार लाग्ने गर्दछ भने सितलबजार, बगालेलगायत सहायक बजारहरूमा पनि तरकारी सङ्कलन तथा बिक्री हुने गरेको छ । गत वर्ष कपुरकोटबाट ३० करोड ५१ लाख रुपैयाँभन्दा बढी मूल्यका तरकारी तथा फलफूल बाहिरिएका थिए । बजार प्रतिनिधि चन्द्रमणि खड्काका अनुसार जेठ अन्तिम सातादेखि मङ्सिरसम्मको अवधिमा ७८ लाख ५९ हजार ९३६ किलो तरकारी तथा फलफूल बिक्री भएको थियो ।

तराई तथा सहरी क्षेत्रमा गर्मी र वर्षाका कारण तरकारी उत्पादन घट्ने समयमा कपुरकोटसहित सल्यानका पहाडी क्षेत्रमा उत्पादन हुने बेमौसमी तरकारीको माग उच्च रहने गरेको छ । दाङ, बुटवल, भैरहवा, नेपालगञ्ज, पोखरा, कैलाली र धनगढीलगायत क्षेत्रका व्यापारीहरू यहाँ पुगेर तरकारी खरिद गर्ने गरेका छन् । कपुरकोटका किसानका लागि जेठदेखि मङ्सिरसम्मको अवधि वार्षिक आम्दानीको मुख्य समय मानिन्छ । यही अवधिमा हुने तरकारी बिक्रीबाट अधिकांश किसानले वर्षभरिका आर्थिक आवश्यकताहरू पूरा गर्ने गरेका छन् ।

२०४७ सालदेखि व्यावसायिक तरकारी खेती सुरु भएको कपुरकोट क्षेत्रमा हाल करिब तीन हजार घरधुरी किसान प्रत्यक्ष रूपमा संलग्न छन् । पछिल्ला वर्षहरूमा युवा तथा महिलाको सहभागिता पनि उल्लेखनीय रूपमा बढ्दै गएको छ । कपुरकोटसँगै त्रिवेणी, छत्रेश्वरी, शारदा र सिद्धकुमाखलगायत स्थानीय तहमा पनि व्यावसायिक तरकारी खेती विस्तार हुँदै गएको छ । स्थानीय सरकार तथा सम्बन्धित निकायहरूले प्राविधिक सहयोग, पूर्वाधार विकास र अनुदान कार्यक्रममार्फत किसानलाई सहयोग गर्दै आएका छन् ।

यस क्षेत्रमा गोलभेडा, बन्दागोभी, फूलगोभी, घ्यूसिमी, बोडी, खुर्सानी, आलु, काँक्रो, स्कुस, मूला, गाजर, भान्टा र हरियो केराउजस्ता बेमौसमी तरकारी उत्पादन हुँदै आएको छ । साथै सुन्तला, आरु, नास्पाती, अनार, आँप, केरा तथा अदुवा, प्याज, लसुन, हरियो धनियाँ, टिमुर र खुर्सानीजस्ता मसलाजन्य बालीको उत्पादन पनि हुने गरेको छ । यद्यपि यस वर्ष तरकारीको ब्याड तयारी र बिरुवा रोप्ने समयमा परेको अविरल वर्षा तथा असिनापानीले किसानलाई ठूलो क्षति पुर्‍याएको थियो । कतिपय किसानले पुनः ब्याड तयार गर्नुपरेको थियो भने केहीले असिनाले क्षति पुर्‍याएका बोट नै हटाउनुपरेको अवस्था आएको थियो ।

प्रकाशित मिति : २०८३ असार १ गते सोमबार