सुर्खेत । हावाहुरीका कारण एक महिनादेखि अवरुद्ध रहेको कोहलपुर–सुर्खेत एक सय ३२ केभी विद्युत प्रसारण लाइन पुनः सञ्चालनमा आएको छ । आइतबार दिउँसो ३ बजेदेखि लाइन सुचारु भएसँगै सुर्खेतसहित कर्णाली प्रदेशका विभिन्न जिल्लामा विद्युत आपूर्ति सहज हुने अपेक्षा गरिएको छ । गत वैशाख ३० गते आएको शक्तिशाली हुरीले बाँकेको चिसापानी नजिक कृष्ण सामुदायिक वन क्षेत्रमा रहेका ४४ र ४५ नम्बरका दुई वटा टावरमा गम्भीर क्षति पुर्याएको थियो । हुरीसँगै करिब २२ मिटर टाढाबाट ढलेको ३८ मिटर लामो र ठूलो रुख प्रसारण लाइनमा खस्दा दुवै टावर पूर्ण रूपमा भत्किएका थिए, जसका कारण लाइन पूर्ण रूपमा अवरुद्ध भएको थियो ।
क्षतिग्रस्त टावर हटाएर नयाँ टावर निर्माण गर्न करिब एक महिना लागेको आयोजना प्रमुख रवि चौधरीले जानकारी दिए। उनका अनुसार आइतबार दिउँसो तिन बजेदेखि लाइन पुनः सञ्चालनमा ल्याइएको हो । निर्माण सम्पन्न भएपछि विद्युत प्रवाह पुनः नियमित गरिएको र आपूर्ति अवस्था क्रमशः सुधार भइरहेको आयोजनाले जनाएको छ । कोहलपुर–सुर्खेत–दैलेख एक सय ३२ केभी प्रसारण लाइन कर्णाली प्रदेशको विद्युत आपूर्ति सुधार गर्ने उद्देश्यले निर्माण गरिएको प्रमुख पूर्वाधार परियोजना हो । २०७७ असारमा सुरु भएको यो आयोजनाको ठेक्का भारतीय निर्माण कम्पनी आरएस इन्फ्राप्रोजेक्ट प्रालिले करिब ७० करोड रुपैयाँमा पाएको थियो ।
विभिन्न प्राविधिक र निर्माण प्रक्रियापछि आयोजना २०८२ फागुनमा सम्पन्न भई सञ्चालनमा आएको थियो । तर सञ्चालनमा आएको एक महिनामै प्राकृतिक विपद्का कारण लाइन अवरुद्ध भएपछि यसको विश्वसनीयताबारे प्रश्न उठ्न थालेका थिए । लाइन पुनः सञ्चालनमा आएपछि सुर्खेतसहित कर्णालीका धेरै जिल्लामा विद्युत आपूर्ति सहज बनेको छ । यद्यपि प्रदेशका धेरै स्थानमा अझै पनि पर्याप्त र नियमित विद्युत सेवा पुग्न सकेको छैन । भोल्टेज कम हुने, अघोषित विद्युत कटौती हुने तथा आपूर्तिमा अस्थिरता देखिने समस्या भने यथावत छन् । उद्योगी रमा आचार्यका अनुसार कर्णालीमा विद्युत सेवा अत्यन्तै अनियमित छ ।
सामान्य वर्षा, हुरी वा रुखका हाँगा भाँचिँदा समेत लामो समयसम्म विद्युत अवरुद्ध हुने गरेको उनको अनुभव छ । उनले भनिन्, “पानी परे बत्ती जान्छ, हुरी चले हराउँछ, रुख ढल्यो भने पूरै क्षेत्र अन्धकार हुन्छ । कर्णालीमा बिजुली गायब हुन ठूलो कारण चाहिँदैन ।” उनका अनुसार दिनमा मात्र केही घण्टा मात्र नियमित जस्तो देखिने विद्युत पनि पर्याप्त भोल्टेज बिना हुन्छ, जसले उद्योग सञ्चालनमा समस्या सिर्जना गरिरहेको छ । उत्पादनमूलक क्षेत्रहरूमा यस्तो अनियमितताले ठूलो असर पारेको उद्योगीहरूको भनाइ छ । कर्णाली प्रदेशमा विद्युत पूर्वाधार विस्तार र स्तरोन्नति अपेक्षित गतिमा अघि बढ्न नसक्दा विकास निर्माणका कामसमेत प्रभावित भइरहेका छन् ।
सडक, स्वास्थ्य, शिक्षा तथा उद्योगजस्ता क्षेत्रको विकासका लागि भरपर्दो विद्युत सेवा आधारभूत आवश्यकता भए पनि त्यसको आपूर्ति अझै चुनौतीपूर्ण देखिन्छ । सरोकारवालाहरूले कोहलपुर–सुर्खेत एक सय ३२ केभी प्रसारण लाइनलाई मात्र उपलब्धि मानेर नरोकिने भन्दै प्रदेशभर विद्युतीकरणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याएका छन् । प्राकृतिक विपद् प्रतिरोधी संरचना निर्माण, वितरण प्रणाली सुधार तथा नियमित आपूर्ति सुनिश्चित गर्न थप लगानी र प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उनीहरूको सुझाव छ ।









