जुम्ला । जुम्लाको प्रसिद्ध पर्यटकीय गन्तव्य गिडीदहतर्फ जाने मार्गमा पर्ने फुलचौल्या पाटन क्षेत्रमा धुपीका रुखहरूको अवैध कटानी बढ्दै गएको पाइएको छ । तातोपानी गाउँपालिका चार अन्तर्गत पर्ने यस क्षेत्रमा चोरी कटानीका साथै प्राकृतिक रूपमा रुख सुक्ने क्रमसमेत बढ्दा वन क्षेत्र संरक्षण चुनौतीपूर्ण बनेको छ । स्थानीयका अनुसार फुलचौल्या पाटनका धुपी वनहरू पछिल्लो समय व्यापक रूपमा नष्ट भइरहेका छन् ।
तातोपानी गाउँपालिका चार का वडाध्यक्ष अमरबहादुर रोकायाले अधिकांश धुपीका रुखहरू जथाभावी काटिएको जानकारी दिए । उनका अनुसार वन संरक्षणका लागि पटक–पटक सम्बन्धित निकायको ध्यानाकर्षण गराइए पनि समस्या पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन । वन संरक्षणका लागि वडा कार्यालय र सामुदायिक वन उपभोक्ता समूहले संयुक्त रूपमा नियमित गस्ती तथा अनुगमन गर्दै आएका छन् ।
अवैध रूपमा रुख काट्ने व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने प्रयास पनि भइरहेको छ । वडाध्यक्ष रोकायाले अघिल्लो वर्षको तुलनामा यस वर्ष वन विनाश केही कम भए पनि चोरी कटानी पूर्ण रूपमा रोक्न दोषीमाथि कडा कानुनी कारबाही आवश्यक रहेको बताए । पर्यावरणीय तथा पर्यटन प्रवर्द्धनका दृष्टिले महत्वपूर्ण मानिने फुलचौल्या पाटनको धुपी वन जोगाउन सम्बन्धित निकायले थप प्रभावकारी कदम चाल्नुपर्ने स्थानीयको माग छ ।
उनीहरूले कडा निगरानी, नियमित अनुगमन र दीर्घकालीन संरक्षण योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । यसैबीच, डिभिजन वन कार्यालय जुम्लाका प्रमुख भरत बुढ्थापाले फुलचौल्या पाटनसहित आसपासका क्षेत्रमा हुने अवैध कटानी नियन्त्रणका लागि वन कार्यालय, स्थानीय तह र सामुदायिक वन उपभोक्ता समूहबीच समन्वय सुदृढ बनाइएको जानकारी दिए ।









