२०८३ असार ८ , सोमबार

स्वास्थ्य सचेतनाबारे पत्रकार अभिमुखीकरण



सल्यान ।  स्वास्थ्यसम्बन्धी सूचना तथा सन्देशलाई प्रभावकारी रूपमा आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले सञ्चारकर्मीहरूका लागि सञ्चार तथा पैरवी कार्यक्रम सम्पन्न गरिएको छ । सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतको आयोजनामा भएको कार्यक्रममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्वास्थ्य सेवा निर्देशनालय, सुर्खेतका जनस्वास्थ्य अधिकृत भुवन पुनले स्वास्थ्य क्षेत्रका विषयवस्तुहरूलाई तथ्यपरक, जिम्मेवार र प्रभावकारी ढंगले सञ्चार माध्यममार्फत जनतासम्म पुर्‍याउन सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले पछिल्लो समय सर्ने रोगको तुलनामा नसर्ने रोगहरू बढ्दै गएकाले यसबारे नागरिकलाई सचेत गराउन सञ्चारमाध्यमले विशेष भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याए ।

उनका अनुसार बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता तथा सुर्तीजन्य पदार्थको प्रयोगका कारण विभिन्न नसर्ने रोगहरूको जोखिम बढ्दै गएको छ  । यस्ता स्वास्थ्य चुनौतीबारे समयमै सही सूचना प्रवाह गर्न सके नागरिकको स्वास्थ्य व्यवहारमा सकारात्मक परिवर्तन ल्याउन सकिने उहाँको भनाइ थियो । कार्यक्रममा स्वास्थ्य र सञ्चारबीचको अन्तरसम्बन्ध, जनस्वास्थ्य सचेतना अभिवृद्धिमा सञ्चारमाध्यमको भूमिका, स्वास्थ्यसम्बन्धी गलत सूचना तथा भ्रम न्यूनीकरण, स्वास्थ्य सेवाको निगरानी तथा जवाफदेहिताको प्रवर्द्धनलगायत विषयमा छलफल गरिएको थियो । साथै स्वास्थ्यसम्बन्धी अभियान तथा कार्यक्रमहरूको प्रभावकारी प्रचारप्रसार कसरी गर्न सकिन्छ भन्ने विषयमा समेत सहभागीहरूबीच अन्तरक्रिया गरिएको थियो ।

त्यसैगरी, सुर्तीजन्य पदार्थको उत्पादन, बिक्री तथा वितरण सम्बन्धी कानुनी व्यवस्था, यसको सेवनबाट स्वास्थ्यमा पर्ने असर, सार्वजनिक स्थानमा धूमपान निषेधसम्बन्धी प्रावधान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि सरकारले गरेका प्रयासबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूले स्वास्थ्य क्षेत्रका मुद्दाहरूलाई प्राथमिकताका साथ उठाउने तथा नागरिकलाई सही र तथ्यमा आधारित स्वास्थ्य सूचना उपलब्ध गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्वास्थ्य सेवा निर्देशनालयले यस्ता कार्यक्रमले सञ्चारकर्मी र स्वास्थ्य क्षेत्रबीचको सहकार्यलाई थप मजबुत बनाउँदै जनस्वास्थ्य प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेको छ

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार