२०८३ असार ८ , सोमबार

चङ्खेली पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषित



सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिका केन्द्र पिप्लाङस्थित रामशाह आधारभूत विद्यालयको सभाहलमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष प्यारीलाल शाहीले गाउँपालिकालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेका हुन् ।

कार्यक्रममा स्वास्थ्य शाखा संयोजक सुरवीर शाहीले पूर्ण खोप सुनिश्चिततासम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामार्फत नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको जानकारी दिए । उनका अनुसार १६ देखि ५९ महिनासम्म उमेर समूहका एक सय ४७ जना बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसारका सम्पूर्ण खोप प्राप्त गरेपछि गाउँपालिकाले पूर्ण खोप सुनिश्चितताको मापदण्ड पूरा गरेको हो ।

घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष शाहीले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गाउँपालिकाको स्वास्थ्य क्षेत्रको महत्वपूर्ण उपलब्धि भएको बताए । उनले बालबालिकाको जीवन रक्षा, रोग नियन्त्रण तथा स्वस्थ भविष्य निर्माणका लागि खोप सबैभन्दा प्रभावकारी र भरपर्दो माध्यम भएको उल्लेख गरे । कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित नहोस् भन्ने उद्देश्यले गाउँपालिकाले आवश्यक स्रोत–साधन व्यवस्थापन गर्दै आएको उहाँको भनाइ थियो ।

गाउँपालिका उपाध्यक्ष प्रेमकला शाहीले पूर्ण खोप सुनिश्चितता स्वास्थ्य क्षेत्रको मात्र नभई समग्र गाउँपालिकाको साझा उपलब्धि भएको बताइन् । उनले प्राप्त उपलब्धिलाई दीर्घकालीन रूपमा कायम राख्न जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा अभिभावकबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइन् ।

कार्यक्रममा सहभागी जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा स्वयंसेविकाहरूले गाउँपालिकाभित्रका सबै लक्षित बालबालिकालाई खोप सेवाको पहुँचमा ल्याउने तथा प्राप्त उपलब्धिलाई दिगो बनाइराख्ने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए । यस घोषणासँगै हुम्लामा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा हुने गाउँपालिकाको संख्या चार पुगेको छ । यसअघि खार्पुनाथ, नाम्खा र सिमकोट गाउँपालिका घोषणा भइसकेका छन् भने जिल्लाका अन्य तीन गाउँपालिका घोषणा हुन बाँकी रहेका छन् ।

प्रकाशित मिति : २०८३ असार ८ गते सोमबार