२०८३ कात्तिक १९ , बिहीबार
फ्रन्ट पेज

सुर्खेत सभाहलः विवाद सुल्झिएपछि दोस्रो चरणको कामले लियो गति



सुर्खेत । कर्णाली प्रदेशमै राष्ट्रिय तथा प्रादेशिक स्तरका ठूला सभा, सम्मेलन, र सांस्कृतिक कार्यक्रमहरू व्यवस्थित रुपमा सञ्चालन गर्ने उदेश्यले आर्थिक वर्ष २०७३÷०७४ मा वीरेन्द्रनगरमा सभाहल निर्माणको काम सुरु भयो । निर्माणका लागि संघीय आयोजना कार्यान्यवयन इकाई, सुर्खेतले सभाहलको पहिलो चरणको कामका लागि समानान्तर–चक्रेश्वरी–शिवशक्ति जेभीसँग २० करोड ५४ लाख ८६ हजार ७८१ रुपैयाँमा सम्झौता ग¥यो ।

उक्त कम्पनीले २०७६ चैतभित्र काम सक्नुपर्ने थियो । तर निर्धारित समयमा काम नसकिएपछि म्याद थप गरी २०७८ भदौ २३ गते पहिलो चरणको काम सम्पन्न भयो । मुख्य भवनसहित पहिलो चरणको संरचना तयार भएपछि २०७८ पुस २२ गते तत्कालीन सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वीरेन्द्रनगर नगरपालिकालाई हस्तान्तरण गरिन् । पहिलो चरणका संरचना हस्तान्तरण भएपछि तिनको संरक्षण तथा रेखदेख नगरपालिकाले गर्दै आएको छ ।

त्यसयता विभिन्न उल्झनका कारण रोकिएको दोस्रो चरणको काम अघि बढ्न सकेन । अन्ततः निर्माण सुरु भएको झन्डै नौ वर्षपछि वीरेन्द्रनगरस्थित सुर्खेत सिटी हल पूर्ण सञ्चालनको चरणमा पुगेको छ । लामो समयदेखि निर्माण, ठेक्का विवाद र भुक्तानीसम्बन्धी कानुनी उल्झनका कारण अल्झिएको सिटी हलको दोस्रो चरणमा बाँकी रहेका काम अहिले अघि बढाइएको छ । मुख्य सभाहलमा कुर्सी जडान, मिनी हललाई सुविधासम्पन्न बनाउने र विद्युत् अवरुद्ध हुँदा पनि कार्यक्रम सञ्चालन गर्न सक्ने गरी जेनेरेटर जडानको तयारी भइरहेको संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका इन्जिनियर टिकाराम पोख्रेलले जानकारी दिए ।

दोस्रो चरणमा बाँकी रहेका काम सम्पन्न गर्न आरआर कन्स्ट्रक्सन, वीरेन्द्रनगर सुर्खेतसँग २०८२ असार १ गते ७३ लाख १४ हजार ५०४ रुपैयाँमा सम्झौता गरिएको छ । लागतको उक्त ठेक्काअन्तर्गत मुख्य सभाहलमा कुर्सी जडानलगायत बाँकी निर्माण तथा सजावटका काम गर्नुपर्नेछ । सम्झौताअनुसार २०८२ चैत ३० गतेसम्म काम सक्नुपर्ने भए पनि निर्धारित समयभित्र सम्पन्न हुन नसकेपछि ठेक्काको म्याद थप गरी २०८३ पुस मसान्तसम्म पु¥याइएको छ । ‘अब कुर्सी जडानको काम छ,’ उनले भने, ‘पुस मसान्तसम्म यो काम सकिन्छ र अरु काम सुरु हुन्छ ।’

इन्जिनियर पोख्रेलका अनुसार मुख्य सभाहलमा करिब सात सय वटा कुर्सी जडान गर्ने काम अघि बढाइएको छ । ‘चीनबाट ल्याउनुपर्ने कुर्सी ढुवानीका क्रममा विभिन्न युद्धका कारण बन्दरगाह बन्द हुँदा ढिलाइ भएको हो, उनले भने ।’

मिनी हललाई सुविधासम्पन्न बनाइँदै, जेनेरेटर पनि राखिने

मुख्य सभाहलको भौतिक क्षमता ७ सय ८० सिटको भए पनि अहिले करिब ७०० वटा कुर्सी जडान गर्ने तयारी छ । यससँगै सिटी हलभित्र रहेका तीनवटा मिनी हलमध्ये एउटालाई थप सुविधासम्पन्न बनाउने तयारी गरिएको पोख्रेरेलले जानकारी दिए । उनका अनुसार उक्त मिनी हललाई करिब १०० देखि १५० जनासम्म सहभागी हुने कार्यक्रम सञ्चालन गर्न मिल्ने गरी आवश्यक फर्निचर तथा अन्य सामग्रीको व्यवस्था गरिनेछ । त्यसका लागि करिब १५ दिनअघि बोलपत्र आह्वान भइसकेको छ । बोलपत्र प्रक्रिया पूरा भएपछि काम अघि बढाइनेछ ।

त्यस्तै, विद्युत् अवरुद्ध हुँदा कार्यक्रम सञ्चालनमा समस्या नहोस् भनेर जेनेरेटर जडान गर्ने तयारी पनि भइरहेको छ । सिटी हलमा ठूला सभा, सम्मेलन तथा अन्य कार्यक्रम सञ्चालन गर्दा विद्युत् आपूर्तिमा समस्या आए कार्यक्रम प्रभावित हुन सक्ने भएकाले जेनेरेटरको व्यवस्था गर्न लागिएको पोखरेलले बताए । यस वर्षभित्रै यी काम अघि बढाउने कार्यालयको तयारी रहेको उनको भनाइ छ ।

दोस्रो चरणको काममा के थियो विवाद ?

पहिलो चरणको काम सम्पन्न भए पनि दोस्रो चरणको निर्माण भने लामो समयसम्म विवादमा अल्झियो । दोस्रो चरणको कामका लागि मजदुर पीएस जेभीसँग ४ करोड १३ लाख ६७ हजार ९०८ रुपैयाँमा सम्झौता गरिएको थियो । निर्धारित समयमा काम सम्पन्न नभएपछि निर्माण कम्पनीसँगको ठेक्का तोडिएको थियो । उक्त कम्पनीले करिब ५५ प्रतिशत काम सम्पन्न गरेको र बाँकी ४५ प्रतिशत काम अधुरै रहेको विवरण सार्वजनिक भएको थियो । निर्माण कम्पनीले पेस गरेका कागजातमाथि पनि प्रश्न उठेपछि ठेक्का प्रक्रियासँग सम्बन्धित विवाद थप चर्कियो । कामको मूल्यांकन र भुक्तानीसम्बन्धी विवाद अदालतसम्म पुगेपछि बाँकी काम अघि बढाउन ढिलाइ भएको थियो ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सम्पन्न भएको कामको मूल्यांकनका आधारमा भुक्तानी गर्ने र बाँकी कामका लागि पुनः ठेक्का प्रक्रिया अघि बढाउने बाटो खुलेको हो । पुरानो ठेक्का २०८० चैत २० गते अन्त्य गरिएपछि बाँकी कामका लागि नयाँ प्रक्रिया अघि बढाइएको हो ।

कार्यालयले पहिलो चरणको काममा २६ करोड ७१ लाख ६१ हजार ४६६ रुपैयाँ भुक्तानी भएको गरेको छ । उक्त चरणको सम्झौता रकम २० करोड ५४ लाख ८६ हजार ७८१ रुपैयाँ थियो । त्यस्तै, दोस्रो चरणको पुरानो ठेक्काअन्तर्गत ४ करोड ३१ लाख ५६ हजार ५६१ रुपैयाँ भुक्तानी भएको इन्जिनियर रामकृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार दोस्रो चरणको काम गरिरहेको आरआर कन्स्ट्रक्सनलाई हालसम्म ११ लाख ५१ हजार ६६८ रुपैयाँ भुक्तानी दिइएको छ । यी भुक्तानी रकम मूल्य अभिवृद्धि करसहितका हुन् ।

सञ्चालनका लागि नगरपालिकाले कार्यविधि बनाउने

सिटी हल सञ्चालनमा आएपछि त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा पनि छलफल भइरहेको छ । नगरपालिकाले भने दोस्रो चरणको काम सम्पन्न भएपछि मात्रै सञ्चालन तथा व्यवस्थापनको मोडेल तय गर्ने जनाएको छ । वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालका अनुसार पहिलो चरणका संरचना मात्रै नगरपालिकालाई हस्तान्तरण भएकाले दोस्रो चरणको काम पूरा भएपछि आवश्यक कार्यविधि बनाएर सञ्चालनको व्यवस्था मिलाइनेछ । ‘कामहरु सकिएपछि हामी कार्यविधि बनाएर अघि बढ्छौँ,’ उनले भनिन, ‘काम त सकिन दिउँ न अनि अरु छलफल र योजना बन्लान् ।’

संघीय आयोजना कार्यान्वयन इकाई, सुर्खेतका इन्जिनियर रामकृष्ण आचार्यले ठूलो क्षमताको सभाहल नियमित रुपमा सञ्चालन र व्यवस्थापन गर्न निजी क्षेत्रलाई प्रतिस्पर्धाका आधारमा जिम्मेवारी दिनु उपयुक्त हुन सक्ने बताउँछन् । सरकारी कर्मचारीबाट नियमित सञ्चालन, मर्मतसम्भार र व्यवस्थापनको काम प्रभावकारी रुपमा गर्न कठिन हुन सक्ने उनको भनाइ छ । निजी क्षेत्रले व्यवस्थापनको जिम्मा पाएमा ठूला सम्मेलनसँगै साना कार्यक्रम, भिडियो छायांकनलगायत गतिविधि पनि सञ्चालन गर्न सकिने र यसबाट नगरपालिकाको मर्मतसम्भार खर्च घट्नुका साथै आम्दानीसमेत हुन सक्ने उनको धारणा छ ।

लामो समयदेखि ठेक्का विवाद र कानुनी प्रक्रियाका कारण अल्झिएको सिटी हलको बाँकी काम अघि बढेसँगै अब सञ्चालनको तयारीले गति लिने अपेक्षा गरिएको छ । दोस्रो चरणमा बाँकी रहेका काम चालु आर्थिक वर्षको अन्तिमसम्म पुर्ण रुपमा सकिएपछि मात्रै सिटी हललाई व्यवस्थित रुपमा सञ्चालनमा ल्याउन सकिनेछ ।

 

प्रकाशित मिति : २०८३ कात्तिक १९ गते बिहीबार