वीरेन्द्रनगर । सुर्खेतमा आयोजित एक्सट्रिम तेस्रो हाफ म्याराथन प्रतियोगिताको उपाधि जुम्लाका राजन रोकायले जितेका छन् । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग तथा मिड वेस्टर्न फिटनेस सेन्टरको आयोजनामा सम्पन्न प्रतियोगितामा रोकायले २१ किलोमिटर दूरी एक घण्टा नाै मिनेट ३१ सेकेन्डमा पूरा गर्दै प्रथम स्थान हासिल गरेका हुन् । उपाधिसँगै उनले नगद एक लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । एक्सट्रिम इनर्जी ड्रिङ्क्सको टाइटल स्पोन्सर रहेको प्रतियोगितामा कालीकोटका विनोद रोकाय दोस्रो तथा सशस्त्र प्रहरी बल (एपीएफ) का गोपिचन्द्र पार्की तेस्रो स्थानमा रहे ।
महिलातर्फको १० किलोमिटर दौडमा धादिङकी सन्तोषी श्रेष्ठ विजेता बनिन् । उनले निर्धारित दूरी ३६ मिनेटमा पूरा गरिन् । जुम्लाकी पूर्णलक्ष्मी न्यौपाने दोस्रो र बाजुराकी सिर्जना पाण्डे तेस्रो स्थानमा रहिन् । यस्तै, महिलातर्फको पाँच किलोमिटर दौडमा सुर्खेतकी कृष्णा रानाले प्रथम स्थान हासिल गरिन् । उनले उक्त दूरी २० मिनेटमा पूरा गरेकी थिइन्। पुरुषतर्फको ५ किलोमिटर दौडमा कालीकोटका अनिल शाही विजेता बने ।
प्रतियोगिताका विजेता खेलाडीहरूलाई वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख मोहनमाया ढकालले ट्रफी, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिन् । ‘दौडिन्छ कर्णाली’ भन्ने नारालाई सार्थक बनाउन कर्णाली प्रदेश खेलकुद विकास परिषद्को पहलमा मिड वेस्टर्न फिटनेस सेन्टरले विगत दुई वर्षदेखि प्रतियोगिताको व्यवस्थापन तथा सञ्चालन गर्दै आएको जनाएको छ । प्रतियोगिताले कर्णालीमा खेलकुद गतिविधिको विस्तार र धावकहरूको प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकको विश्वास छ ।









