कालिकोट । शुभकालिका गाउँपालिकामा विद्यालय छाडेका किशोरीहरूको आर्थिक सशक्तीकरण र स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यले ‘आफ्नो व्यवसाय सुरु गरौँ र सुधार गरौँ (SYB/GYB)’ सम्बन्धी तीनदिने तालिम सम्पन्न भएको छ । शुभकालिका गाउँपालिका दुई स्थित वडा कार्यालयको सभाहलमा सञ्चालन गरिएको तालिममा विभिन्न वडाका २५ जना किशोरीहरूको सहभागिता रहेको थियो । तालिमको सहजीकरण प्रशिक्षक वीरेन्द्र चौलागाईंले गरेका थिए ।
तालिममा सहभागी किशोरीहरूलाई उद्यमशीलता विकास, व्यवसायिक अवसरको पहिचान, व्यवसाय योजना निर्माण, वित्तीय व्यवस्थापन, बजार प्रवर्द्धन तथा उद्यम सञ्चालनसम्बन्धी व्यावहारिक ज्ञान र सीप प्रदान गरिएको आयोजकले जनाएको छ । तालिममार्फत किशोरीहरूलाई स्वरोजगारतर्फ प्रेरित गर्दै आत्मनिर्भर बन्न सहयोग गर्ने लक्ष्य राखिएको थियो । तालिमको पहिलो दिन उद्यमशीलता, व्यवसायिक अवसरको खोजी, SWOT विश्लेषण, मूल्य शृङ्खला विकास, ब्रान्डिङ तथा बजार विश्लेषणका विषयमा प्रशिक्षण दिइएको थियो ।
दोस्रो दिन वित्तीय व्यवस्थापन, आय–व्यय अभिलेख राख्ने तरिका, लागत तथा मूल्य निर्धारण, ग्राहक सम्बन्ध व्यवस्थापन र व्यवसायको दिगोपनाका विषयमा छलफल तथा अभ्यास गराइएको थियो । सहभागीहरूले आपूर्ति र मागसम्बन्धी खेल, समूहगत छलफल तथा विभिन्न व्यावहारिक अभ्यासमार्फत व्यवसाय सञ्चालनका आधारभूत पक्षहरू सिकेका थिए ।
तालिमको अन्तिम दिन सहभागीहरूले आफूले सञ्चालन गर्न चाहेको व्यवसाय छनोट गरी व्यवसाय योजना तयार गर्ने र प्रस्तुतीकरण गर्ने अभ्यास गरेका थिए । सहजकर्ता तथा अन्य सहभागीबाट प्राप्त सुझावका आधारमा उनीहरूले आफ्ना योजनामा सुधारसमेत गरेका थिए । उक्त कार्यक्रम नेपाल सरकार, युरोपेली संघ तथा संयुक्त राष्ट्रसंघका विभिन्न एजेन्सीहरूको संयुक्त पहल ‘सशक्त महिला, समृद्ध नेपाल (EWPN)’ कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) को सहयोगमा सेवक नेपालद्वारा सञ्चालन गरिएको हो ।
आयोजकका अनुसार तालिमले सहभागी किशोरीहरूको उद्यमशीलता तथा व्यवसाय व्यवस्थापनसम्बन्धी ज्ञान, सीप र आत्मविश्वास अभिवृद्धि गरेको छ । यसबाट उनीहरूलाई आफ्नै व्यवसाय सुरु गर्न, आयआर्जनका अवसर सिर्जना गर्न तथा आर्थिक रूपमा आत्मनिर्भर बन्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।









