सल्यान । वर्षौंदेखि खानेपानी अभाव झेल्दै आएका सल्यानका बासिन्दा अहिले घरघरमा धारा पुगेपछि खुसी भएका छन् । खानेपानीको सहज पहुँचसँगै स्थानीयको दैनिक जीवनमा सकारात्मक परिवर्तन देखिन थालेको छ । पश्चिम सल्यानको वनगाड कुपिण्डे नगरपालिका अन्तर्गत भलाखर्क गाउँमा ‘सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा)’ कार्यक्रममार्फत ८७ घरधुरीमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ । यसअघि एक गाग्रो पानीका लागि घण्टौँ हिँड्नुपर्ने र वर्षायाममा धमिलो पानी प्रयोग गर्नुपर्ने बाध्यता स्थानीयले भोग्दै आएका थिए ।
करिब ९३ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको खानेपानी आयोजना आइतबार स्थानीय उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । आयोजनाबाट विशेषगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । विद्यालय जाने बालबालिकाले समेत पानी ल्याउन समय खर्च गर्नुपर्ने अवस्था अन्त्य भएको स्थानीयले बताएका छन् ।
आयोजना हस्तान्तरण कार्यक्रममा नगरप्रमुख कर्णबहादुर बुढाथोकीले दुर्गम क्षेत्रका नागरिकलाई आधारभूत सेवा उपलब्ध गराउनु स्थानीय सरकारको प्राथमिक दायित्व भएको बताए । कार्यक्रममा पानीको संरक्षण, सरसफाइ तथा मर्मतसम्भार कोषको व्यवस्थापनबारे पनि उपभोक्तालाई जानकारी गराइएको थियो । खानेपानी अभावका कारण बसाइँसराइको जोखिममा रहेको भलाखर्कमा अब पानीको सहज पहुँचसँगै कृषि, पशुपालन तथा अन्य आर्थिक गतिविधि विस्तार हुने अपेक्षा गरिएको छ । यस्तै, हुम्लाको सिमकोट गाउँपालिका–ओख्रेनका स्थानीय नागरिक पनि करिब तीन दशकपछि व्यवस्थित खानेपानी सेवामा जोडिएका छन् ।
लामो समयदेखि पर्याप्त खानेपानीको अभाव झेल्दै आएका स्थानीयको मागअनुसार खानेपानी योजना सञ्चालन गरिएको हो । नानापानी–कराला खानेपानी उपभोक्ता समितिमार्फत खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय र स्थानीयको श्रमदानसहित १८ लाख ५४ हजार १४ रुपैयाँको लागतमा आयोजना कार्यान्वयन गरिएको उपभोक्ता समितिका अध्यक्ष रामराज शाहीले जानकारी दिए । हाल ओख्रेन गाउँका ५२ घरधुरीमध्ये १८ घरधुरीमा ‘एक घर, एक धारा’ निर्माण सम्पन्न भई शुद्ध खानेपानी सेवा पुगेको छ ।
बाँकी ३४ घरधुरी भने अझै खुला पाइपबाट आउने पानीमा निर्भर छन् । सबै घरधुरीलाई खानेपानीको पहुँचमा जोड्न थप प्रयास भइरहेको जनाइएको छ । स्थानीय हरिबहादुर शाहीले लामो समयदेखिको खानेपानी समस्या समाधानका लागि गाउँलेहरूले सक्रिय भूमिका निर्वाह गरेको बताए । आयोजना सम्पन्न गर्न स्थानीयले श्रमदानसँगै करिब तीन लाख ६३ हजार रुपैयाँ बराबरको अतिरिक्त योगदानसमेत गरेका थिए ।









