२०८३ असार ९ , मंगलबार

जुम्लाका उत्कृष्ट तीन कृषक सम्मानित



जुम्ला ।  तीन जना उत्कृष्ट कृषकलाई कृषि क्षेत्रमा पुर्‍याएको योगदानको कदर गर्दै सम्मान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय जुम्लाले आर्थिक वर्ष २०८२/८३ को स्वीकृत कार्यक्रमअन्तर्गत उत्कृष्ट कृषक पुरस्कार तथा सम्मान प्रदान गरेको हो । जिल्ला कृषि विकास कार्यालयका प्रमुख रामभक्त अधिकारीका अनुसार कृषि उत्पादन वृद्धि, व्यवसायिक खेती तथा अन्य कृषकलाई प्रेरित गर्ने योगदानका आधारमा अगुवा तथा अनुभवी कृषकहरूलाई सम्मान गरिएको हो ।

कार्यक्रमअन्तर्गत ‘मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार’ समेत प्रदान गरिएको थियो । हिमा गाउँपालिका तिनका स्याउ कृषक तथा कठायत एग्रो फर्मका सञ्चालक सार्की कठायत प्रथम घोषित हुँदै ३० हजार रुपैयाँ नगदसहित सम्मानित भएका हुन् । त्यसैगरी चन्दननाथ नगरपालिका आठ स्थित भवानी कृषि तथा एग्रो फर्मका सञ्चालक भैरवबहादुर धराला द्वितीय हुँदै २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए । सम्मान ग्रहणपछि कृषक सार्की कठायतले कृषि क्षेत्रमा मेहनत र लगनशीलताका साथ काम गरे स्वदेशमै राम्रो आम्दानी गर्न सकिने बताए ।

रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता कम गर्न कृषि क्षेत्र प्रभावकारी माध्यम बन्न सक्ने उनकाे भनाइ थियो । उनले पछिल्लो समय जुम्लामा विशेषगरी स्याउ खेतीप्रति कृषकहरूको आकर्षण बढ्दै गएको उल्लेख गर्दै आधुनिक प्रविधिको प्रयोग र व्यवसायिक खेती विस्तारमा जोड दिनुपर्ने बताए ।  कार्यक्रममा गुठिचौर एग्रो फर्मका सञ्चालक टंक गिरीलाई पनि विशेष सम्मान गरिएको थियो । केही दिनअघि राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कारबाट सम्मानित भएका गिरीको उपलब्धिको कदर गर्दै कार्यालयले सम्मान गरेको जनाएको छ । जिल्ला कृषि विकास कार्यालयले कृषकहरूलाई कृषि पेशाप्रति थप आकर्षित गर्न, सफल कृषकका अनुभव आदानप्रदान गर्न तथा व्यवसायिक कृषिको प्रवर्द्धन गर्न यस्ता सम्मान कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार