२०८३ असार ९ , मंगलबार

पर्यटकीय पूर्वाधार विस्तारमा जुट्दै वीरेन्द्रनगर



सुर्खेत ।  कर्णाली प्रदेशमा पर्यटनको प्रचुर सम्भावना भए पनि आवश्यक पूर्वाधार र प्रभावकारी प्रचारप्रसारको अभावमा अपेक्षित लाभ लिन सकिएको छैन । पछिल्लो समय भने प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्न विभिन्न पूर्वाधार निर्माणका काम तीव्र बनाइएका छन् । वीरेन्द्रनगर नगरपालिकाले घण्टाघर, बुलबुले उद्यान, काँक्रेविहार, सहिद पार्कलगायतका पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटन प्रवर्द्धनका योजना कार्यान्वयन गरिरहेको छ । पछिल्ला वर्षहरूमा यी स्थलहरूमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै गएको छ ।

नगरपालिकाको महत्वाकांक्षी योजनामध्ये ‘ग्रेटर घण्टाघर’ निर्माण प्रमुख रहेको छ । कर्णालीका दसै जिल्लाको सांस्कृतिक तथा पर्यटकीय पहिचान झल्किने गरी घण्टाघर क्षेत्रलाई आधुनिक पार्क, सभाहल, पब्लिक प्लाजा, योगा क्षेत्र, बाल उद्यान तथा खुला मनोरञ्जनस्थलसहित विकास गर्न लागिएको हो । आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको यस योजनाअन्तर्गत घण्टाघर क्षेत्रको पर्खाल निर्माण, खुला पार्क र मण्डलासहितका संरचना निर्माणको काम भइरहेको छ । त्यसैगरी बुलबुले क्षेत्रको संरक्षण र सौन्दर्यीकरणका लागि प्रदेश राजधानी संरक्षण योजना अन्तर्गत १७ करोड १५ लाख रुपैयाँभन्दा बढी लागतमा नदी नियन्त्रण तथा पानी व्यवस्थापनको काम सुरु गरिएको छ।

बुलबुले तालदेखि काँक्रेविहार जंगलसम्म करिब एक किलोमिटर क्षेत्रमा पानीको बहाव व्यवस्थित गर्ने, तट संरक्षण गर्ने तथा पर्यटकका लागि आकर्षक वातावरण तयार गर्ने लक्ष्य राखिएको छ । बुलबुले र काँक्रेविहारलाई जोड्ने पैदलमार्ग, साना पुल तथा नयाँ ताल निर्माणका काम पनि अघि बढाइएको छ । चरा तथा जलस्रोत संरक्षणलाई ध्यानमा राख्दै एक करोड १२ लाख रुपैयाँभन्दा बढी लागतमा ताल निर्माण भइरहेको छ । यसले पर्यावरण संरक्षणसँगै पर्यटक आकर्षणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।

नगरप्रमुख मोहनमाया ढकालका अनुसार पर्यटन क्षेत्रको सम्भावनालाई आर्थिक विकाससँग जोड्ने लक्ष्यसहित नगरपालिकाले पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको छ । आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेत पर्यटन विकासका योजना समावेश गरिएको उनले बताइन् । पर्यटकीय क्षेत्रको संरक्षण, व्यवस्थापन र नयाँ पूर्वाधार निर्माणका यी प्रयासले वीरेन्द्रनगरलाई कर्णाली प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार