२०८३ असार ९ , मंगलबार

नगरपालिकाको निर्णय पुस्तिका हरायो, प्रशासनसंग गुहार



जाजरकोट । भेरी नगरपालिकाको कार्यपालिका बैठकसँग सम्बन्धित महत्वपूर्ण निर्णय पुस्तिका हराएपछि नगरपालिकाले खोजी कार्यमा सहयोग गर्न जिल्ला प्रशासन कार्यालय जाजरकोटसँग अनुरोध गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुहरि तिमल्सेनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गर्दै कार्यपालिका बैठकका क्रममा निर्णय पुस्तिका हराएको जानकारी गराए ।

पत्रअनुसार असार नाै गते बसेको कार्यपालिका बैठकमा सदस्यहरूको उपस्थिति दर्ता सम्पन्न भएपछि निर्णय पुस्तिका फेला नपरेको जानकारी प्राप्त भएको थियो । नगरपालिकाले उपलब्ध जानकारी र प्रारम्भिक तथ्यका आधारमा खोजी प्रक्रिया अघि बढाएको जनाएको छ । पत्रमा वडा नम्बर दुईका वडाध्यक्ष भीमबहादुर कार्की निर्णय पुस्तिका लिएर नगर उपप्रमुखको कार्यक्रममा पुगेको दृश्य सिसिटिभी फुटेजमा देखिएको उल्लेख गरिएको छ । यद्यपि पुस्तिकाको वर्तमान अवस्थाबारे कुनै आधिकारिक जानकारी प्राप्त हुन नसकेको जनाइएको छ ।

नगर उपप्रमुखको सचिवालयसँग सम्पर्क गर्दा पनि निर्णय पुस्तिकाबारे कुनै जानकारी प्राप्त नभएको नगरपालिकाले जनाएको छ । यसै आधारमा हराएको अभिलेखको खोजी तथा आवश्यक समन्वयका लागि जिल्ला प्रशासन कार्यालयसँग सहयोग मागिएको हो । नगरपालिकाले पठाएको पत्रको बोधार्थ नगर प्रमुख तथा जिल्ला प्रहरी कार्यालय जाजरकोटलाई समेत दिइएको छ । घटना सम्बन्धमा थप अनुसन्धान तथा खोजी प्रक्रिया अघि बढ्ने जनाइएको छ ।

स्थानीय तहका निर्णय, नीति तथा प्रशासनिक प्रक्रिया अभिलेख गर्ने महत्वपूर्ण दस्तावेजका रूपमा निर्णय पुस्तिकालाई लिइन्छ । यस्तो संवेदनशील अभिलेख हराएको घटनाले नगरपालिकाभित्र मात्र होइन, स्थानीय स्तरमै चासो र चर्चा बढाएको छ। नगरपालिकाले निर्णय पुस्तिका फेला पार्न सम्बन्धित सबै पक्षसँग सहयोगको अपेक्षा गरेको जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार ९ गते मंगलबार