२०८३ असार १० , बुधबार

लिफ्ट प्रविधिबाट कर्णालीको पानी गाउँमा



मुगु ।  लामो समयदेखि सिँचाइ सुविधाको अभाव झेल्दै आएको मुगुको रुगागाउँमा आधुनिक लिफ्ट सिँचाइ योजना निर्माण सुरु भएपछि स्थानीय किसान उत्साहित भएका छन् । कर्णाली नदीको पानी लिफ्ट प्रविधिमार्फत गाउँसम्म पुर्‍याउने तयारीसँगै खेतीयोग्य जमिनको सदुपयोग हुने र कृषि उत्पादनमा उल्लेख्य वृद्धि हुने अपेक्षा गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, मुगुले छायानाथ रारा नगरपालिका १३ स्थित रुगागाउँमा लिफ्ट सिँचाइ प्रणाली निर्माण थालेको हो ।

आयोजना अन्तर्गत कर्णाली नदीबाट करिब तिन सय ६० मिटर माथिसम्म पानी तानेर विशेष पोखरीमा सङ्कलन गरिनेछ । त्यसपछि उक्त पानी पाइपलाइनमार्फत गाउँका विभिन्न खेतबारीमा वितरण गरिने योजना रहेको छ । आयोजनाका सिनियर डिभिजन प्रमुख तेजनारायण महतोका अनुसार यस योजनाबाट रुगागाउँका ८८ घरधुरी प्रत्यक्ष रूपमा लाभान्वित हुनेछन् । उनले सिँचाइ सुविधा विस्तारसँगै कृषि उत्पादन बढ्ने, तरकारी खेतीको विकास हुने तथा स्थानीयको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

स्थानीय किसान रतन बडुवालले विगतमा सिँचाइको अभावका कारण गाउँका धेरै खेतीयोग्य जमिन बाँझै रहनुपरेको बताए । उनका अनुसार किसानहरू वर्षौंदेखि आकासे पानीमा निर्भर भएर खेती गर्न बाध्य थिए, जसले उत्पादनमा अस्थिरता ल्याउने गरेको थियो । अब लिफ्ट सिँचाइ योजना सञ्चालनमा आएपछि वर्षभरि विभिन्न तरकारी तथा खाद्यान्न बाली उत्पादन गर्न सहज हुने अपेक्षा गरिएको छ । उनले सिँचाइ सुविधा उपलब्ध भएपछि कृषिमा आत्मनिर्भर बन्ने आधार तयार हुने र युवाहरूलाई समेत कृषि पेशाप्रति आकर्षित गर्न सहयोग पुग्ने बताए ।

स्थानीयवासीले यस योजनालाई गाउँको कृषि विकासका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन् । एक करोड ७६ लाख ९१ हजार दुई सय ३५ रुपैयाँ लागतमा निर्माण हुने उक्त योजना सम्पन्न भएपछि रुगागाउँको कृषि क्षेत्रमा नयाँ सम्भावना सिर्जना हुने विश्वास गरिएको छ । आयोजना कार्यालयले यस योजनामार्फत कृषि उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा ग्रामीण जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुग्ने जनाएको छ ।

प्रकाशित मिति : २०८३ असार १० गते बुधबार